एजेन्सी,
ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका कपमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पाएको रातो कार्डको विषयमा विवाद उठिरहेको छ । गए राति भएको चिलीविरुद्धको खेलमा मेस्सीले रातो कार्ड पाएपछि यसबारे खेलाडी तथा प्रशिक्षकले खुलेर आफ्नो अभिव्यक्ति दिइरहेका छन् ।
यस्तैमा मेस्सीसँग गए रातिको खेलमा झगडा गरेका चिलीका कप्तान गारी मेडेलले पनि मेस्सीसँग सहमत रहेको भन्दै आफ्नो भनाइ सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘म मेस्सीसँग सहमत छु, यहाँसम्म कि हामीलाई त पहेँलो कार्डसम्म पनि रेफ्री देलान भन्ने लागेको थिएन । केही झोपडझापड मात्र भएको थियो ।’
३१ वर्षीय मेडेलले भनेका छन्, ‘हामीले रातो कार्ड खानु उचित थिएन । तर, रेफ्रीले हाम्रो झगडालाई ठूलो बनाए र रातो कार्ड दिए ।’
खेलको ३७औं मिनेटमा चिलीका कप्तान गारी मेडेल र मेस्सीबीच झगडा भएको थियो । जसका कारण रेफ्रीले दुवै कप्तानलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । क्लब करिअरमा बार्सिलोनाका लागि कहिल्यै रातो कार्ड नखाएका मेस्सीले १४ वर्षपछि रातो कार्ड खाए । उनले सन् २००५ मा पहिलोपल्ट रातो कार्ड खाएका थिए ।
अन्तर्राष्ट्रिय डेब्यूमा रातो कार्ड खान पुगेका मेस्सीले १४ वर्षपछि पुनः राष्ट्रकै लागि दोस्रो कार्ड खाए । सो खेल मेस्सीको टोली अर्जेन्टिनाले २–१ गोलले जितेको थियो ।