काठमाडौं,
‘आदित्य नारायण झा लाइभ इन नेपाल’ कार्यक्रममा सहभागी हुन हिजो आदित्य आफ्नो टिमसंग नेपाल आएका थिए । शनिबार नेपाल आइपुगेका आदित्यलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । आदित्य चर्चित गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । उदित नारायणका छोरा भएकाले पनि आदित्यलाई नेपालमा विशेष महत्व दिने गरिन्छ ।
क्यामेराको अगाडि नमस्ते गर्दै मुस्कुराउँदै आदित्यले आफ्नो बुबा उदितनारायणले गाएको हिट गीत ‘यो गाउँको ठिट्टो म’ गाएर सुनाएका थिए । त्रिुभवन विमान स्थलमा संचारकर्मीले नेपाल तपाइको घर कि मामाघर भनेर प्रश्न गर्दा उनले नेपाल मेरो घर भनेर जवाफ दिएका थिए । आदित्यले नेपाललाई आफ्नो घर र नेपालीहरु आफ्नो परिवार ठान्दै आफ्नो सबै नेपाली फ्यानहरुमा आफ्नो धेरै माया रहेको ब्यक्त गरेका छन् ।
उनले आफु आठ वर्षपछि नेपाल आउन पाउदा निकै उत्साहित रहेको र भोली नै फर्किनु पर्ने भएकोले यसपाली खासै घुम्न नपाउने बताएका छन् । साथै, सुट सकिन बितिकै आएको हुनाले केही थकानको महसुस गरिरहेको र नेपाली खानामा जे खुवाए नि खाने उनले थपे । आदित्य राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत दिन आएका थिए ।
गायकसँगै एक्टर समेत रहेका आदित्यले उनले बलिउडसँगै नेपालका हिट गीतहरु प्रस्तुत गरेका थिए । नेपालमा आदित्यको राम्रो क्रेज रहेकाले उनलाई नेपाल ल्याएको उक्त कन्सर्टका आयोजकले बताएका छन् । नेपालका लागि आदित्यको यो दोस्रो कन्सर्ट रहेको छ । केहि वर्ष अगाडी मात्र पोखरामा आयोजित भएको कन्सर्टका लागि आदित्य नेपाल आएका थिए ।