fbpx

बीमा रकम पाउन आफ्नै ४ वर्षीया छोरीको हत्या

रौतहट,
बीमा रकम पाउन आफ्नै ४ वर्षीया छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । आफ्नै छोरी ४ वर्षीया लक्ष्मीकुमारी यादवको हत्या गरेको आरोपमा मौलापुर नगरपालिका–६ पथरा बुधराम घर भएका ३९ वर्षीय रामकिशोर राययादवलाई बुधबार साँझ गौरबाट प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घरमा आमासँग सुतिरहेकी लक्ष्मीकुमारी मंगलबार बिहान बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा स्थानीय फगुनी राय यादवको माछापोखरीमा बालिकाको शव फेला पारेको थियो ।

घटना शंकास्पद भएकोले जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले गहन अनुसन्धान गर्ने क्रममा मृतकको बाबु नै शंकास्पद देखिएपछि उनलाई पक्राउ गरी सोधपुछ गर्दा घरमा निदाइरहेकी छोरीलाई रातको करिब १ देखि १ः३० बजेको बीचमा आफैँले काँधमा बोकी पोखरीको डिलसम्म र्पुयाएको र नाक, मुख थुनेर हत्या गरेपश्चात् शव पोखरीमा फालेको उनले स्वीकार गरेका छन् ।

आर्थिक समस्याको कारण बीमा रकमको लोभमा हत्या नै गर्ने योजना बनाइ पहिले ३० लाखको बीमा गराउन चाहेको तर सम्भव नभएपछि २०७६ जेठ १९ गते मृतक बालिकाको नाममा प्रभु लाइफ इन्सुरेन्स लिमिटेड गरुडा, उपशाखाबाट २५ लाख रुपैयाँको जीवन बीमा गरेको र सोही रकम प्राप्त गर्न छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

अभियुक्त रामकिशोरले २०५८ सालदेखि २०६१ सालसम्म विभिन्न अभियोगमा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको समेत खुल्न आएको छ । रामकिशोरलाई ज्यानसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Loading...