एजेन्सी,
इंग्लिस क्लब लिभरपुलका ब्राजिलियन गोलकिपर एलिसन बेकरले यसपटकको बालोन डी‘ओर जित्नसक्ने आँकलन धेरैले गर्दै आएका छन् ।
लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन र ब्राजिललाई आफ्नै भूमिमा जारी ४६औं संस्करणको कोपा अमेरिकाको फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निभाएका कारण बेकरलाई सन् २०१९ को बालोन डी‘ओर जित्ने भन्ने चर्चा चलेको हो ।
तर, एलिसनले भने यस कुरालाई नकारेका छन् । उनले एउटा गोलकिपरले कहिल्यैपनि बालोन डी‘ओरको अवार्ड जित्न नसक्ने बताएका छन् । तर, एउटा गोलकिपरले बालोन डी‘ओरको अवार्ड जितेको पनि इतिहास छ । सन् १९६३ मा लेजेण्ड गोलरक्षक लेभ एशिनले उक्त अवार्ड हात पारेका छन् ।
इटालियन क्लब रोमाबाट लिभरपुल गएका बेकरलाई बालोन डी‘ओर तपाईँले जित्नुहुन्छ ? भन्ने प्रश्नमा भनेका छन्, ‘म आफूलाई आफ्नै काममा मात्र सीमित राख्छु । यहाँ बालोन डी‘ओरका लागि धेरै उत्कृष्ट खेलाडीहरू आकांक्षीका रूपमा छन् । म एउटा गोलकिपर मात्र हुँ ।’
बालोन डी‘ओरको होडमा शीर्ष स्थानमा रहेका बार्सिलोनाका कप्तान लियोनल मेस्सीको टोली अर्जेन्टिनालाई कोपा अमेरिकाबाट आउट गर्न सफल बेकरले सम्भवतः आफूले उक्त अवार्ड जित्न नसक्ने बताए ।