विराटनगर,
बलिउडका किङ्ग खान अभिनेता शाहरुख खान आफ्नो पछिल्लो फिल्म ’जिरो’ को असफलता पछि कुनै नयाँ फिल्ममा काम गर्ने सोच बनाएका छैनन् ।उनलाई चलचित्रको प्रस्तावहरु नआएको पनि होइन । केहि समय देखि शाहरुखले फिल्महरु गर्ने भनेर विभिन्न खबरहरु चर्चामा आइरहेका छन् । भारतीय मिडियाहरु अनुसार यशराजको नयाँ प्रोजेक्ट ’धुम ४’मा शाहरुखले भिलेनको भूमिका निर्वाह गर्ने बताइएको थियो ।
अब भने शाहरुख भिलेनको भूमिका निर्वाह गर्ने भएका छन् । तर,उनले ’धुम ४’ मा नभई तमिल फिल्ममा डेब्यु गर्दै भिलेनको भूमिका निर्वाह गर्ने भएका छन् । विभिन्न भारतीय मिडिया अनुसार फिल्मको औपचारिक घोषणा नभए पनि शाहरुखले तमिल फिल्म ’बिगिल’मा चाडै नै डेब्यु गर्ने भएका छन् । तमिलका चर्चित अभिनेता विजयको मुख्य भूमिका रहने फिल्ममा अभिनेता शाहरुखको १५ मिनेटको भूमिका रहने भएको छ ।
फिल्ममा विजयले दोहोरो भूमिका निर्वाह गर्ने भएका छन् । एजीस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने भएको यस फिल्मलाई एटलेले निर्देशन गर्ने भएका छन् । फिल्मको गीतहरुमा ए आर रहमानको संगीत रहने छ । फिल्मले दिवालीको अवसर परेर यहि वर्षको अक्टुवरमा रिलिज हुने तय गरिएको छ । यदि शाहरुखले यस फिल्ममा भिलेनको रुपमा आफूलाई प्रस्तुत गर्ने छन् भने उनको बलियो कम्ब्याक रहने दर्शकहरुको अपेक्षा रहेको छ ।