विराटनगर,
हरि हुमागाईँको निर्देशनमा बनेको फिल्म ‘सरौतो’को ‘कुले दाई’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतलाई सार्वजनिक गरिएको हो । गायक तथा संगीतकार राजन राज शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको यस गीतमा उनलाई गायिका मिलन नेवारले गायनमा साथ दिएकी हुन् ।
सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मको मुख्य अभिनेता सन्नी सिंह र अभिनेत्री सुमी मोक्तानको प्रस्तुति रहेको छ । निलिशा शाक्यको कोरियोग्राफी रहेको यस गीतको मेकिङ उच्च देखिएको छ । बदलाको कथा बोकेको फिल्म ‘सरौतो’ हरि हुमागाईंको डेब्यु निर्देशन हो । फिल्म विरन्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स् एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको हो ।
फिल्ममा सुमी र सन्नी सिंहका साथ विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की लगायतको कलाकारहरुको अभिनय रहेको छ । राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहेको यस एक्सन फिल्म ‘सरौतो’मा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहेको छ ।
उक्त कार्यक्रममा निर्देशक हरिले आफ्नो डेब्यू फिल्म भए पनि यसलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी नराखेको बताएका छन् । फिल्म आउदो कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने भएको छ ।