fbpx

आइफा अवार्ड : अवसर कि आवश्यकता ?

सवीन घिमिरे,
आइफा, विजक्राफ्ट इन्टरनेशनल इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडद्वारा अवधारणा र निर्माण गरिएको एक प्रतिष्ठित दक्षिण एसियाली फिम्ल एकेडेमि हो । यसको मुख्य आकर्षण आइफा अवार्ड भारतको मुख्य मेडिया इभेन्टहरुमध्येको एक हो ।

गत वर्ष थाइल्यान्डमा आयोजना गरिएको यो अवार्डको १९औँ संस्करण एक उच्च मुल्याङ्कन गरिएको शो बनेको थियो । बलिउडका कलात्मक तथा प्राविधिक उत्क्रृष्टताको सम्मान गर्ने एक मन्च हो यो । यो विश्वमै सबैभन्दा धेरै हेरिने अवार्ड हो । यसको आयोजना अहिलेसम्म भारतमा नै भएको छैन ।

सन् २००० देखि आयोजना गरिँदै आएको यो अवार्ड कार्यक्रम विभिन्न देशमा आयोजना गरिएको छ । यसको आयोजना गर्नु एउटा अवसर र गरिमाको रूपमा लिने गरिन्छ र यसबाट पर्यटन विकासमा सहयोग पुगेको प्रमाण विभिन्न आयोजक राष्ट्रहरुलाई लिन सकिन्छ । आइफा अवार्डको आयोजना सन् २००० मा लन्डन र त्यसपछि बर्सेनि दक्षिण अफ्रिका, मलेसिया, दक्षिण अफ्रिका, सिङ्गापुर, नेदरल्यान्ड, युएइ, इङ्ग्ल्यान्ड, थाइल्यान्ड, मकाउ, श्रिलङ्का, क्यानडा, सिङ्गापुर, मकाउ, युएस, मलेसिया, स्पेन, युएसए, थाइल्यान्ड र २०१९ मा नेपालमा गरिँदै छ । मन्त्री परिषदको बैठकले यसको आयोजना अनुबोदित गरेको छ ।

यो आईफा अवार्ड नेपाल पर्यटन बोर्ड (एनटीबी) र काठमाडौं महानगरपालिका बीचको सहयोगको नेतृत्वमा हुनेछ । नेपाल टुरिजम बोर्डका प्रमुख दीपकराज जोशीको अनुसार, काठमाडौं महानगरपालिका, एनटीबी, निजी संस्था, उद्योग वाणिज्य संघ, होटल संघ तथा अन्यले आयोजनाको व्यय साझेदारी गर्नेछ । सरकारले उक्त व्यावसायिक आयोजनामा लगभग एक अर्ब रुपैयाँ खर्च गर्दै छ । नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले सिधै ४४ करोड नगद दिने सुरसार गर्दै छन् ।

निजी कम्पनीको व्यापार प्रवद्र्धन गर्ने माध्यम कुनै एउटा देश वा सरकार बन्न सक्दैन  भन्ने किसिमका आलोचनाहरु अहिले जनमानसमा आइरहेको छ । तर, यो आलोचना त्यति तार्किक छैन । यस अवार्ड सोको माध्यमबाट नेपालको पर्यटक प्रवद्र्र्धनमा सहयोग पुग्न सक्ने कुरामा कुनै दुइमत छैन । यसले विश्वभर हाम्रो पहिचान र सक्षमताको विषयमा राम्रो सन्देश फैलाउन सहयोग पुर्याउने छ ।

विश्वमै ख्याति कमाएका बलिउडका हजारौँ कलाकारहरुको माध्यमबाट हाम्रो देशको प्रचारप्रसारमा सहयोग पुग्न सक्छ । नेपाल भ्रमण वर्ष २०२० को सन्ध्याकालीन अवस्थामा आइपुग्दा नेपाललाई पर्यटकीय गन्तब्यको रूपमा चिनाउने यो एउटा राम्रो माध्यम बन्न सक्छ । सन् २०११ को आइफा अवार्ड सो क्यानडाको टोरोण्टोमा आयोजना गरिएको थियो जसको प्रायोजन क्यानेडियन इम्पेरीयल बैंक अफ कमर्सले गरेको थियो भने यसमा ओन्टारियो सरकारले सहयोग गरेको थियो ।

आइफाको तथ्यांकअनुसार सो क्षेत्रमा ३५ प्रतिशत पर्यटकहरु वृद्धि भएको थियो । सन् २०१० मा यो अवार्ड श्रीलंकामा योजना गरिएको थियो । जसबाट श्रीलंकाले ४० प्रतिशत थप पर्यटकहरुलाई स्वागत गरेको थियो । श्रीलंकाले त्यहाँको रुपैयाँ १.१ बिलियन खर्च गरेकोमा ४ बिलियन रुपैयाँ पर्यटकको माध्यमबाट आर्जन गर्न सफल भएको थियो ।

सन् २००२ मा आयोजना गरिएको स्थान मलेसियाको गेण्टिङ्ग हाइल्याण्डमा १९० प्रतिशत थप भारतीय पर्यटकहरुको लहरले त्यहाँको पर्यटनलाई प्रवद्र्धन गर्न मद्दत गरेको थियो । त्यस्तै सन् २००४ मा सिंगापुरमा आयोजना गरिएको यस इभेन्टको सातामा ३१ प्रतिशतले पर्यटकहरु बढेको थियो । सो वर्ष आइफा अवार्ड आयोजना भएको सातामा १६००० थप पर्यटकहरु भित्रिएका थिए । सन् २००८ र २०१८ मा आइफा अवार्डको आयोजना गरेको थाइल्यान्डमा २०१७ मा १.४ मिलियन भारतीय पर्यटकहरु थाइल्यान्ड भित्रिएका छन् जसबाट ६२.४० मिलियन थाइल्याण्डमा भारतीय पर्यटकीय आम्दानी भएको छ । सन् २०१८ को पहिलो ४ महिनामा मात्र ४,८१,५७३ भारतीय पर्यटकहरु थाइल्यान्ड घुम्न गएका थिए ।

यसरी विगतका तथ्याङ्ग्क र आयोजक राष्ट्रले उठाएको लाभहरुलाइ हेर्दा यो फाइदाजनक कार्यक्रम हो भन्ने कुरा पुष्टि हुन्छ । राजनैतिक, आर्थिक, व्यवस्थापन वा अन्य कुनै विषयले यसको आयोजना गर्नु हुन्छ या हुँदैन भन्ने विभिन्न तर्क वा वितर्क आएपनि यो एउटा देशको लागि अवसर हो । विश्वमै ख्याति कमाएको यो सो हाम्रो देशमा अयोजना हुनु भनेको एउटा सकरात्मक पक्ष हो । बलिउडसम्बन्धी कार्यक्रम संसारका धेरै देशमा आकर्षक हुने गर्छन् ।

वलिउड चलचित्रका लाखौँ फ्यान भएको नेपालमा त्यससम्बन्धी कार्यक्रम आफैँमा व्यापारिक महत्त्वको हुनु स्वाभाविक छ । यसको माध्यमबाट नेपाल र भारतबीचको सम्बन्ध सुदृढिकरणमा थप टेवा मिल्न सक्नेछ । यस कार्यक्रमको आयोजनाले गर्दा हाम्रो देशको ब्रान्डिङ्गमा केही हदसम्म सहयोग पुग्ने छ । हाम्रो जस्तो प्रकृति सुन्दरताले भरिपूर्ण देश नेपाललाई विश्वभरि चिनाउन यो एउटा राम्रो अवसर हो ।

यसको लागि नेपालको तर्फबाट त्यो मञ्चलाई नेपाल चिनाउनको लागि प्रयोग गर्न सक्ने वातावरण मिलाउनु पर्दछ । यो मौका नेपालले चुकाउँनु हुँदैन । यस कार्यक्रमको आयोजनाबाट नेपालले पर्यटक प्रवद्र्धनमा दीर्घकालीन फाइदा उठाउन सक्छ । यो तयारीले हाम्रो आर्थिक पक्ष केही हलचल हुनेछ ।

केही नेपाली कामदारले काम पाउनेछन् । आइफा मात्र होइन विश्वका अन्य फिल्म एवार्ड पनि नेपालमा आउनु राम्रो कुरा हो । यसबाट विश्वका विभिन्न ठाउका कलासंस्कृतिको बारेमा सिक्न सकिन्छ । देशमा ठूलाठूला अन्तर्राष्ट्रिय अवार्ड आयोजना हुनु, देश विदेशका कलासंस्कृतिको आदान–प्रदान हुनु र विश्वमा देशको बारेमा सकारात्मक सन्देश जानु, प्रचार प्रचार हुनु राम्रो विषय हो ।

आइफा अवार्डले नेपालको व्यापक प्रचारप्रसार हुनेछ । अहिले बलिउड विश्वकै दोस्रो ठूलो फिल्म उद्योग हो । उसको व्यापार विश्वभर फैलिइसकेको छ । ती देशहरुका दर्शकले आइफा अवार्ड हेर्नेछन् । नेपालमा आयोजना हुने भएकाले नेपालको प्रचारप्रसार व्यापक हुनेछ । नेपाल भ्रमण वर्षका लागि आइफा अवार्ड सहयोगी बन्नेछ ।

कला र साहित्यको माध्यमबाट जोडिएर पनि देशमा आर्थिक लाभ उठाउन सकिन्छ । यो आइफा अवार्ड पनि हाम्रो आर्थिक वृद्धि वा अन्य कुराहरुबाट लाभ उठाउने माध्यम बन्न सक्छ । त्यसो त नेपाललाई विश्वमाझ प्रचार गर्नको लागि सरकारले अहिले पनि विभिन्न क्षेत्रमा करोडौँ लगानी गरेको छ जसको जानकारी कमैलाई मात्र थाहा छ । यसमा लगानी गर्दा विरोध किन ? विरोधका कारणहरु छन्, अहिलले भइरहेको आलोचना आइफा अवार्डको नभई आइफा अवार्डको लागि सरकारले गर्ने लगानीको हो ।

सरकार र यहाँका नेतामन्त्रीबाट रुष्ट भएका जनताहरुको वितृष्णा र अविश्वास भएको कारणले पनि यो आलोचना आएको हो । राज्यको ढुकुटी सिध्याएर आफ्नो एकाउण्ट भर्ने भ्रष्टाचारीहरुबाट के आशा र विश्वास गर्ने भन्ने अन्यौलता छ यहाँ । यसबाट हुनसक्ने आर्थिक फाइदा पनि कतै नेतामन्त्रीहरुको गोजीमा जाने मात्र हो कि भन्ने डर छ । आफ्नो देशमा रहेका अवसरहरुलाई सदुपयोग नगर्ने अनि अर्काको देशको अवार्ड सोलाई चासो दिनु एउटा ढर्रा हो भन्नेहरु पनि धेरै छन् ।

नेपाली कलाकारहरुले त यसको चर्को विरोध गरेका छन् । नेपालकै नेशनल फिल्म अवार्ड ३ वर्षदेखि हुन सकेको छैन, आइफा अवार्डमा किन चासो भन्ने धेरैको गुनासो रहेको छ । आफ्नै देशको चलचित्रलाई धरासायी छाडेर अर्को देशको एउटा निजि अवार्ड शोमा सरकारले लगानी गर्न खोज्नु गलत रहेको विभिन्न कलाकारहरुको भनाइ छ । धेरैको त नेपाल देशप्रति नै अविश्वास रहेको छ । नेपालजस्तो गरिब देशले यत्रो लगानी गरेर आयोजनाको जिम्मा लिन सक्छ भनेर प्रश्न गर्नेहरु पनि धेरै छन् ।

यस अवार्डबाट नेपालको बेइज्जत हुने हो कि भनेर डराउनेहरु पनि छन्, यहाँ । पहिलादेखि जनमानसमा रहँदै आएको भारतप्रतिको दृष्टि पनि यस अवार्डको आलोचनाको एक कारण हो । भारतले जहिले पनी हामीलाई थिचोमिचो गर्न खोज्छ भन्ने बुझाई भएको कारण यो अवार्डलाई पनि नेपाललाई हेप्ने किसिममा लिएका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्ड नेपालमा गराएरै छाड्ने भनि रहँदा यता इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) रोक्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिति बैठकले तत्काललाई आइफा अवार्ड रोक्न निर्देशन दिएको हो ।

संसदीय समितिले राज्य कोषको रकम खर्च हुने अवस्था आएकाले रोक्न निर्देशन दिएको हो । समितिले दिएको यो निर्देशनमा कुनै लोजिक छैन । रातारात पोल–पोलमा प्रधानमन्त्रीको फोटो टाँस्दा किन बोलेन समितिहरु ? पोल–पोलमा प्रधानमन्त्रीको फोटो टाँस्दा प्रधानामन्त्रीज्यूकै खर्च भएको थियो र ? राष्ट्रपतिको विदेश भ्रमणको लागि प्लेन चार्टर गर्दा राज्य कोषको रकम खर्च भएको छैन र ? पोल–पोलमा फोटो टाँस्नुभन्दा देशको गरिमा र फाइदाको लागि यस्ता किसिमको अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहयोग गर्नु उचित हो ।

तर, यो हामी सबैको लागि एउटा चुनौती पनि हो । यसलाई कसैको एकल प्रयासबाट सफल बनाउन सक्दैन, र यसलाई कुनै एक व्यक्ति, पार्टी वा संस्थाको फाइदाको लागि प्रयोजन गरिनु हुँदैन । राज्य कोषको एक एक पैसामा जनताको पसिना तप्किएको छ । र, यो पसिनालाई राज्यले देश र जनताको फाइदाको लागि प्रयोग गर्नु पर्छ । यस आइफालाई पनि देश र जनताको गरिमा बढाउने माध्यम बनाइयोस् ।

यसको सुरक्षाको लागि कुनै असर छाड्नु हुँदैन सरकारले । वीरताको गाथा बोकेको हामी नेपालीको अर्को वीरता वलिउडलाई पनि देखाइ दिऔँ । नागरिकको हैसियतले पनि हाम्रा कर्तव्यहरू छन् । विश्वले सम्मान गर्ने हाम्रो नेपाली परम्परा, संस्कृति, अतिथि सत्कारलाई बलिउडले पनि महसूस गरुँन । शान्तिको भूमिको वीरताको गाथाको विगुल फुकोस् बलिउडले फेरि एकपल्ट । बलिउड त के हलिउडलाई पनि स्थान दिन सक्ने हिम्मत र गौरव नेपालसँग छ भनेर विश्वले थाहा पाउन सकोस् । यसमा हामी सबै किन हातेमालो नगर्ने ?

साथै अन्त्यमा सरकारले आफ्नै देशको चलचित्रलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्ने सोचेर यसमा भरपुर सहयोग गरोस् भन्ने हामी सबैको चाहना हो । नेपाली चलचित्रलाई पनि विश्वले गौरव गर्न सक्ने र नेपाललाई विश्वमाझ चिनाउनसक्ने किसिमको बनाउने कुरामा सबैको ध्यान जाओस् । चलचित्र एउटा उद्योग पनि हो जसले हजारौँलाई रोजगार दिन सक्छ र राज्यकोषको वृद्धिमा सहयोग पुर्याउन सक्छ । साथै नेपाली चलचित्रकर्मीहरुले पनि आफ्नो उत्कुष्ट प्रदर्शन दर्शकमाँझ पस्किन मेहनत गर्नु अर्को दायित्व रहेको छ ।

प्रतिक्रिया

Loading...