विराटनगर,
मोरङ उर्लाबारीका समन शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका उच्च पदस्थलाई धरौटीमा छाड्ने आदेश दिने न्यायाधीश उमेशकुमार सिंह बखास्तीमा परेका छन् । न्याय परिषद्को सोमबार बसेको बैठकले उनलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।
बर्खास्तीमा परेका सिंहसहितको संयुक्त इजलासले विभिन्न मितिमा सञ्जय खेतान भनिने प्रभात अग्रवाल, मदन शिलवाल, डीएसपी प्रजित केसी, गोरेका सहयोगी रामकुमार तिवारी, व्यपारी राजकुमार दारुका र माधव भनिने मदनप्रसाद घिमिरेलाई धरौटीमा छाड्ने विवादास्पद आदेश दिएको थियो ।
सुन मुद्दाको आदेश विवादित बनेपछि गत माघमा तत्कालीन मुख्यन्यायाधीश डाक्टर कुलरत्न भुर्तेलसहित न्यायाधीश नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल न्याय परिषद् तानिएका थिए ।
न्याय परिषदले सोमबार सिंहलाई पदमुक्त गर्न सिफारिस गरेको न्याय परिषदका उपसचिव टेकनाथ गौतमले जानकारी दिए । उनका अनुसार न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटालाई सचेत गराउने निर्णय गरेको छ ।
असार ४ गतेको परिषद बैठकले कारबाही प्रक्रिया अघि बढाउन तीन न्यायाधीशलाई थप स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण हेरेपछि परिषदले प्राप्त प्रमाणका आधारमा सिंहलाई सेवाबाट हटाउने निर्णय गरेको हो ।
परिषदले सुन प्रकरणको आदेशमा जोडिएका न्यायाधीशमध्ये तत्कालीन मुख्य न्यायाधीश कलुरत्न भुर्तेल र न्यायाधीशहरु साराङ्गा सुवेदी र जनक पाण्डेलाई सामान्य ध्यानआकर्षण गराएर छाडेको थियो ।