fbpx

ड्रोनको माध्यमद्वारा साउदी विमानस्थलमा आक्रमण

साना,
साउदी अरबको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन विमान (ड्रोन) को माध्यमद्धारा यमनका हुथी विद्रोहीले आक्रमण गर्नुका साथै विद्रोहीले जिजान विमानस्थलमा समेत ड्रोनमार्फत बम आक्रमण गरेको दाबी पनि गरेका छन् ।

विद्रोहीद्वारा नै सञ्चालित मासिराह टेलिभिजनले दुवै ड्रोन आक्रमणबाट आभा र जिजान विमानस्थलका विमान ह्याङ्गरमा आक्रमण गरिएकोे जनाएको छ । उक्त समूहका सैनिक प्रवक्ता याह्या सारियाले एक विज्ञप्ति जारी गर्दै ड्रोनमार्फत बम आक्रमण गरिएको उल्लेख गरेका छन् ।

हालका दिनमा विद्रोहीले साउदी अरबका क्षेत्रीय विमानस्थलमा क्षेप्यास्त्र र ड्रोन आक्रमण निकै नै तीब्र बनाएका छन् । साउदी समाचार संस्थाले जनाएअनुसार हुथी विद्रोहीद्वारा आभा विमानस्थलमा गरिएको ड्रोन आक्रमणबाट गत साता एक जना सिरियाली नागरिकको ज्यान जानुका साथै अन्य आठ जना घाइते हुनुका साथै अर्को ड्रोन आक्रमणबाट आभा विमानस्थलमा २६ जना घाइते भएका थिए ।

हुथी विद्रोही र यमनमा मध्यपूर्वको अन्तर्रा्िष्ट्रय सैनिक गठबन्धनको नेतृत्व गरिरहेको साउदी अरबबीच केही समयदेखि तनाब भइरहेको अवस्थामा साउदी अरबले विशेष गरेर यमनको सरकारको नेतृत्व गरिरहेका राष्ट्रपतिलाई समर्थन गर्दै आइरहेको छ भने इरानले विद्रोही हुथी विद्रोहीलाई समर्थन गरिरहेको छ ।

सन् २०१५ देखि भइरहेको गृहयुद्धका कारण अहिलेसम्म हजारौं यमनी नागरिकको ज्यान गुमाइसकेका छन् भने यमन युद्धकै कारण मानव इतिहासकै सबैभन्दा ठूलो मानवीय संकटबाट गुज्रिरहेको छ ।

प्रतिक्रिया

Loading...