birat ribon

वर्षाको मौसममा अपनाउनु पर्ने केही सावधानीहरू

Neuro
वर्षाको मौसममा अपनाउनु पर्ने केही सावधानीहरू

वर्षाको मौसम सुरु भइसकेको छ । वर्षाको पानीमा भिज्न र पानी परेको दृश्यले मन लोभ्याउने गरेको हुन्छ । अझ धेरैजसो मानिसहरुलाई वर्षाको पानीमा भिज्न निकै मन पर्ने हुन्छ । तर, वर्षायाममा हामीले गर्ने सानो लापरबाहीले गर्दा पनि हामी छिट्टै बिरामी हुने गर्छौं । वर्षाको समयमा हामीले हाम्रो घरवरि परिको वातावरणको सफाई, शरीरको हाइजीनमा लापरवाही तथा खानपानमा ध्यान नपुर्याएको खण्डमा हामी बिरामी हुन सक्छौं ।

cura insider

धेरैजसो स्वास्थ्यमा हुने समस्या हामीलाई हाम्रो हातबाटै सर्ने हुन्छ । त्यसैले हामीले यो कुरामा बिशेष ध्यान दिनु पर्ने हुन्छ । कुनैपनि फोहोर सामान, कपाल, आफ्नो अनुहार छोए पछि, सौचालय गएर आएपछि र कुनैपनि खानेकुरा खानुभन्दा अगाडी सँधै नबिर्सिकन हात धुने गर्नु पर्छ । नङ पाल्ने रहर भए पनि वर्षाको मौसममा नङलाई सकेसम्म निकै छोटो बनाएर राख्ने गर्नु पर्छ । नङमा फसेको फोहोरले गर्दा हामी बिरामी हुने सम्भावना बेसी हुने गर्छ ।

पानी पर्ने मौसमा ग्यास्ट्रिक, अपच तथा पेटको विभिन्न समस्याबाट बच्नका लागि हामीले बाहिरको स्ट्रिट फुड, बासी खाना, जंक फुडबाट टाढा रहनु पर्छ । यस्तो मौसममा पहिलेदेखि काटेर खुल्ला राखेको, नुनिलो, अमिलो, पिरो, चिल्लो, तारेको, फ्राई गरिएको खाना खानु हाम्रो स्वास्थ्यका लागि राम्रो हुदैन । अचम्म लाग्ला तर यस्तो पानी परेको मौसममा हामीले हरियो सागसब्जीको सेवन गर्नु उचित हुदैन ।

हरियो साग सब्जीमा सेल्यूलोज हुन्छ जुन वर्षाको मौसममा हामीले राम्रो सँग पचाउन सक्दैनौ । यस्तो मौसममा हामीले कागति, आलुबखरा, सुन्तला, अमला जस्ता भिटामिन सी ले भरिएको फलफुलको सेवन गर्नुपर्छ । यसले विभिन्न रोगबाट टाँढा राख्नका साथ साथै हाम्रो छालालाई फाइदा पुर्याउने गर्छ । यसका साथ साथै हामीले दहि, महि, दूध, फर्सि, करेला, जीरा, अदुवा र काचो प्याजलाई हाम्रो खानामा समावेश गर्नु पर्छ ।

हामीले घर र घर वरी परिको वातावरणलाई सफा राख्ने गर्नु पर्छ । पानी परेको मौसममा घरको वरिपरि छिट्टै पानी जम्न सक्ने हुदा हामीले पानी जम्न दिनु हुदैन । यसले लामखुट्टे र अन्य किटाणु उत्पन्न गराउन मद्दत गर्छ । यस्ता लामखुट्टे र किटाणुहरुले हामीलाई विभिन्न स्वास्थ्य समस्या ल्याउन सक्छ । यदि हामी पानीमा भिजेका छौं भने हामीले जति सक्दो चाँडो शरीरलाई सुक्खा लुगाले पुछेर अर्को लुगा लगाउनु पर्छ ।

भिजेको लुगाले हामीलाई फंगल इन्फेक्शनको समस्या हुन सक्छ । हामीले जुत्ता तथा मोजा पनि सँधै सुक्खा र सफा नै प्रयोग गर्नुपर्छ । हप्तामा एकदिन जुत्तालाई राम्रो संग धुएर घाममा सुकाउने गर्नु पर्छ । यस्तो गर्दा जुत्तामा भएको किटाणु नस्ट भएर जानुका साथै हाम्रो खुट्टा गनाउने समस्या समेत हराएर जान्छ । हामीले वर्षाको मौसममा पनि दिनहु नुहाएर आफ्नो शरीरलाई सफा र ताजा राख्ने गर्नु पर्छ ।

jackson ribon