एजेन्सी,
ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका कपबाट सर्वाधिक १४ पटकको विजेता टोली उरुग्वेले बिदा लियो । गए राति भएको चौथो क्वार्टरफाइनलको खेलमा पेरुले उरुग्वेलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनायो ।
पेनाल्टीमा हार्नुको मुख्य कारण बने, स्टार खेलाडी लुइस स्वारेज । उनी पेनाल्टीमा गोल गर्न चुकेपछि उरुग्वेले सेमिफाइनल पुग्ने सपना, सपनामै सीमित हुन पुग्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलमा पेनाल्टीको निर्णय गरिएको थियो । तर, उरुग्वेका लागि पहिलो पेनाल्टी प्रहार गरेका स्वारेज बिफल भए । उनी पेनाल्टीमा चुके ।
आफ्नो टोली हार्नुमा प्रमुख कारण नै आफू बनेपछि बार्सिलोनाका स्टार खेलाडी स्वारेज मैदानमै रोए । उनी भावुक हुँदै मैदानमै घोप्टो परी–परी रोए । यस खेलपछि ब्राजिलका स्टार खेलाडी नेयमारले स्वारेजलाई समर्थन गरेका छन् । उनले स्वारेज महान खेलाडी भएको बताएका छन् ।
स्वारेजका पूर्वसहकर्मीसमेत रहेका नेयमारले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘उठ, तिमी एक महान् खेलाडी हौ । आइ लभ यु साथी’ ।