fbpx

एसईईको ग्रेडिङ प्रणाली सन्तोषजनक नभएको सरोकारवालाहरुको दाबी

काठमाडौं ।

सरोकारवालाहरुले एसईईको ग्रेडिङ प्रणाली त्यति सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले आफूहरुले अनुमान गरेझैं एसईईको नतिजा आएको सुनाए । उ साक्षात्कारमा बोल्दै उनले ग्रेडले नतिजामा कुनै फरक नपारेको सुनाए । उनले ग्रेडिङले पास र फेलको अवधारणालाई नै आत्मसात गरेको सुनाए । सामुदायिक विद्यालयको स्तरोन्नती गर्नुपर्नेतर्फ उनले सरकारको ध्यानाकार्षण गराए ।

उनले भने,‘परीक्षाको बेलामा मात्रै ध्यान दिएर हुँदैन, अब परीक्षा अघि र पछिको व्यवस्थापकीय कुरामा पनि सामूदायिक विद्यालयहरुले विशेष ध्यान दिनुपर्छ ।’

नेपालमा पाठ्यक्रम विकास गर्दा पर्याप्त छलफल तथा परामर्श नै नभएको पनि भण्डारीको गुनासो छ । सामूदायिक विद्यालयतर्फबाट राम्रो नतिजा ल्याउने विद्यार्थीको पृष्ठभुमि निजी विद्यालयमा अध्ययन गर्नुनै मुख्य रहेको पनि उनले दाबी गरे ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विगतमा ग्रेडिङ नहुँदा विद्यार्थीहरुले आत्महत्या गर्ने गरेको भएपनि अहिले ग्रेडिङले त्यस्तो अवस्था नरहेको भन्दै यसलाई सुखद पक्षको रुपमा लिए ।

त्यस्तै, उनले कम ग्रेड ल्याउने विद्यार्थीहरु अन्ततः रोजगारीको लागि खाडी मुलुक जाने स्पष्ट पारे । शिक्षक शिक्षणको कमजोरीका कारण नतिजा सन्तोषजनक नआएको उनको आरोप छ । उनले भने,‘अहिलेको शिक्षा पद्धतीनै गलत छ । यसलाई सच्याउनुपर्छ ।’ उनले व्यवहारिक शिक्षा प्रणालीलाई लागु गर्नुपर्नेमा जोड दिए ।

भण्डारीले कक्षा दशमा लिईने टेष्ट परीक्षालाई खारेज गर्नुपर्ने आवश्यकत्ता औंल्याए । मुलुक संघीय प्रणालीमा गैसकेको भएपनि अझैसम्मपनि शिक्षा क्षेत्रले उक्त प्रणालीअनुसार आफ्नो संरचना बनाउन नसकेको उनको गुनासो थियो ।

कार्यक्रममा एन–प्यावसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि केन्द्रगत परीक्षा प्रणाली नै गलत रहेको टिप्पणी गरेका छन् । उनकाअनुसार यही प्रणालीका कारण प्रदेश नम्बर २ को एसईईको नजिता सन्तोषजनक आएन । सापकोटाले एसईई दिईसकेपछि र नतिजा नआउन्जेलसम्म विद्यार्थीहरु तहविहीन भएको सुनाए ।    नेपालको शैक्षिक सत्रनै अव्यवहारिक र समयसापेक्ष नभएको उनको धारणा छ ।

त्यस्तै, प्याव्सनका सह–अध्यक्ष डिके ढुंगानाले सरकारले मुलुकको शैक्षिक प्रणालीलाई सुधार गर्नेगरि कुनै उल्लेख्य काम नै गर्न नसकेको आरोप लगाए ।

उनले भने,‘सरकारले शिक्षा क्षेत्रमा दशकौंदेखि काम गर्दै आएका हामीजस्तो सरोकारवालाहरुको कुरा सुन्नै चाहँदैन । अनि कसरी शिक्षा क्षेत्रको विकास र गुणस्तरीयता कायम हुन्छ ।’

प्रतिक्रिया

Loading...