fbpx

कर्णाली जीप दुर्घटना : बेपत्ता यात्रु नभेटिएपछि कुशकाे पुत्ला बनाएर अन्तिम संस्कार

हुम्ला । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएको जीप र यात्रुको अवस्था अझै अज्ञात छ । नेपाल प्रहरी सशत्र प्रहरीको टोलीले खोजी गरेपनि शुक्रवार सम्म बेपत्ताको अवस्था पत्ता लागेको छैन् ।

दुर्घटना भएकाे तीन दिन सम्म बेपत्ताकाहरुको शव नभेटिएपछि पुत्ला बनाएर अन्तिमा संस्कार गरिएको छ । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत हुम्लाका बेपत्ता नौं जनाको दुर्घटना स्थल नजिकै छुट्टा छुट्टै पुत्ला बनाएर अन्तिम संस्कार गरिएको हो ।

गत मङ्गलबार खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जिप खस्दा उपाध्यक्ष शाहीसहित ११ बेपत्ता भएका थिए ।

बुधबार अपराह्न १:३० बजेदेखि घटनास्थलमा पुगेको गोताखोरको टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि शव नभेटिएपछि हिन्दू धर्मअनुसार आफन्तले बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका नौ जनाको छुट्टाछुट्टै दाहसंस्कार गरेका हुन् ।

बेपत्ता जीप र शवको खोजीकार्यमा कुनै प्रगति नभएपछि बिहीबार स्थानीयवासीले बेपत्ता भएका नौ जनाकै कुशको पुत्ला बनाएर दाहसंस्कार गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

अध्यक्ष रावलका अनुसार बेपत्ता भएकी खार्पुनथाकी उपाध्यक्ष शाहीको पुत्लामा उनका पति धीरेन्द्र शाही र छोराले दागबत्ती दिएका थिए ।

आफन्त र गाउँपालिकाका स्थानीयवासीको उपस्थिति भएको दाहसंस्कारमा पालिका अध्यक्ष रावलले राष्ट्रिय झण्डा ओढाएका थिए ।

नेपाली काङ्ग्रेसका जिल्ला सचिव महनविक्रम सिंहले नेपाली काङ्ग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । जीप दुर्घटनामा बेपत्ता भएका काठमाडौँका राजु श्रेष्ठ र एक जना नाम नखुलेका कुकको भने दाहसंस्कार गरिएको छैन् । रासस

Loading...