fbpx

पुसेट कलेज विवाद : सिभिल इन्जिनियरिङ पास गरेका विद्यार्थीको भविष्य अन्योलमा

विराटनगर । विराटनगरका ललित साहले पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (पुसेट)बाट सिभिल इन्जिनियरिङ पास गरेको दुई वर्ष भयो । प्रमाणपत्र इन्जिनियरको भएपनि उनले सरकारी तथा नीजि जागिरकालागि प्रतिर्स्पधा गर्न पाउँदैनन् । कारण : उनले अध्ययन गरेको क्याम्पसले नेपाल इन्जिनियरिङ काउन्सिलबाट मान्यता पाएको छैन् ।

ललित मात्र होइन पुसेटबाट पहिलो र दोस्रो ब्याचमा पास भएका २२ जना विद्यार्थीले सरकारी जागिरमा प्रतिस्पर्धा गर्न पाएका छैनन् । क्याम्पसले समयमा नै इन्जिनियरिङ काउन्सिलमा सूचीकृत नहुँदा पास भएका र अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

लोकसेवा आयोगले ९ हजार १ सय ६१ कर्मचारीकालागि विज्ञापन आह्वान गरेको छ । बेला निजी तथा सरकारी भ्याकेन्सी पनि खुलीरहेका हुन्छन् । तर सिभिल इन्जिनियर उत्तीर्ण गरेका ललित सहित २२ जनाले प्रतिस्पर्धामा आउन पाएका छैनन् ।

पुसेटबाट पासहुने साहको ब्याच पहिलो हो । भदौमा तेस्रो ब्याचका विद्यार्थी पास भएर निस्कदैछन् । तर सात वर्षअघि स्थापना भएको पूविको आंगिक क्याम्पस पुसेट नेपाल इन्जिनियरिङ काउन्सिलमा सूचीकृत नहुँदा  इन्जिनियरिङ पास गरेका विद्यार्थीले सरकारी जागिरमा प्रतिस्पर्धा गर्न पाएका छैनन् । ‘म एउटा सरकारी प्रोजेक्टमा काम गर्थे तर अनुगमन आउदा जागिर छाड्नु पर्याे ।’ साह भन्छन ‘क्याम्पसले लाप्रवाही गर्दा भविष्य अन्योलमा छ ।’

अनिस बस्नेतको समस्या पनि उस्तै छ । ठूलो संख्यामा लोकसेवा खुलेपनि कलेजले नै मान्यता नपाएका कारण सरकारी जागिरमा प्रतिस्पर्धा गर्न सकेका छैनन् । पुसेट क्याम्पसमा सिभिल इन्जिनियरिङ छौटौं सेमेस्टर अध्ययन गरिरहेका अभिषेक भट्टराई क्याम्पस प्रशासनले चासो नदिदा पास भएका र इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीको भविष्य अन्योलनमा रहेको बताउछन् । क्याम्पस प्रशासन र विश्वविद्यालयमा प्रशासनले चासो नदिएपछि विद्यार्थीहरु आन्दोलित बनेको उनले बताए ।

स्वीकृति नपाएकै अवस्थामा कोटा वृद्धि

पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस पुसेटले सात वर्षयता सिभिल इन्जिनियरिङ अध्यापन गराउँदै आएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलको अनुमती नपाएपनि क्याम्पसले विश्वद्यिालयबाट ४८ विद्यार्थी अध्यापन गराउने कोटा पाएको थियो ।

काउन्सिलले मान्यता नदिएकै अवस्थामा विश्वविद्यालयलले क्याम्पसले दुई वर्षअघि विद्यार्थी कोटा बढाएर ९६ जना अध्यापन गर्ने अनुमति दियो । काउन्सिलले मान्यता नदिएपनि कलेजले विस्तारै मान्यता लिने बताउँदै कोटा थपेर अध्यापन गराइरहेको छ ।

इन्जिनियरिङ काउन्सिलले पास भएका विद्यार्थीलाई लिस्टिङ नगरेका कारण दुई व्याचका विद्यार्थीको भविष्य अन्योलमा परेको अनेरास्ववियू मोरङका अध्यक्ष गोकर्ण घिमिरेले बताए । विद्यार्थीहरुले काउन्सिलमा दर्ता हुन पाउनु पर्ने माग गर्दै एक वर्षदेखि आन्दोलनमा उत्रिएको उनले बताए । तीन महिना अघि विद्यार्थीहरुले रिले अनसन गरेका थिए । अनसनपछि तत्काल समस्या सामधान गर्ने पहल गरेको विश्वविद्यालयका पदाधिकारीले पनि चासो नदिएको उनले बताए ।

क्याम्पस प्रमुख भन्छन्– फाइल क्याबिनेटमा छ

पुसेट क्याम्पस विराटनगरका प्रमुख मनोजकुमार हलुवाई इन्जिनियिरिङ काउन्सिलमा दर्ताकालागि तयार भएको फाइल मन्त्रिपरिषदमा पुगेको बताउछन् । काउन्सिलबाट भौतिक पूर्वाधार तथा योजना मन्त्रालय हुँदै क्याबिनेट पुगेकाले चाडो निर्णय हुने उनको भनाई छ । तर विद्यार्थी ललित साह एक वर्षयता क्याम्पस प्रशासन र विश्वविद्यालयका पदाधिकारीले फाइल क्याबिनेटमा छ भन्दै झुक्याउने गरेको बताउछन् ।
क्याम्पसले निरन्तर प्रयास गरेको बताउँदै  हलुवाइ इन्जिनियरिङ काउन्सिल र मन्त्रालयबाट पास भएर क्याबिनेटमा पुगेका कारण मन्त्रीपरिषदले निर्णय गरे लगतै विद्यार्थीले काउन्सिलमा दर्ता पाउने बताउछन् ।

बल्ल संसदमा कुरा उठ्यो

पुसेट कलेजका विद्यार्थी प्रमाणपत्रले मान्यता नपाएपछि एक वर्षयता आन्दोलनमा छन् । इन्जिनियरिङ काउन्सिलमा दर्ता नहुँदा इन्जिनियरिङ  पास गरेका विद्यार्थीको भविष्य अन्योलमा परेको विषयले  संसदमा प्रवेश पाएकाे छ । प्रदेशसभा र प्रतिनिधीसभामा बिहिवार एकै साथ प्रवेश पाएकाे हाे ।

बिहिवार प्रदेश १ को प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद केदार कार्कीले विद्यार्थीको भविष्य अन्योलमा परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । उनले प्रदेश सरकारले संघिय सरकारस“ग समन्वय गरी विद्यार्थीलाई दर्ता नम्बर दिन आग्रह गरेका छन् ।

बिहिवार नै पूर्वाञ्चल विश्वविद्यालयको पुसेट क्याम्पसका विद्यार्थी आगजनीमा उत्रिएको घटनाप्रति प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सिभिल इन्जिनियरिङ पास गरी प्रमाणपत्र प्राप्त गरिसकेका पुसेट क्याम्पसका २२ जना विद्यार्थीले इन्जिनियरिङ काउन्सिलको स्वीकृति नपाउँदा विभिन्न अवसरबाट बञ्चित भइरहेको बताइन् ।

Loading...