fbpx

हुम्ला दुर्घटना अपडेटः जीप र यात्रु अझै बेपता, नदी किनारमा उपप्रमुखकाे झाेला भेटियाे

हुम्ला । हुम्लामा मङ्गलबार अपराह्न दुर्घटना भएको जिप अझै भेटिएको छैन् । दुर्घटना भएको जीपको खोजी गर्न गोताखोरको टोली घटना स्थल पुगेको छ । तर नदीकाे बहाव बढेका कारण बिहिवार बिहान सम्म बेपत्ता यात्रु र जीप भेट्टाउन सकेको छैन् ।

भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामाबाट जीप कर्णाली  नदीमा खसेको थियो । सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक भएको हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा लु१ज ७१६६ नंको जीप खसेको थियो ।

जीकार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बलका निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगे पनि पानीको बहाव बढी भएका कारण पत्ता लगाउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनापछि खोजीकार्य जारी रहे पनि जिप दुर्घटनामा रहेका यात्रु भेट्टाउन नसकिएको हो ।
स्थानीयवासीले जिप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेट्टाएको बताएका छन् ।

दुर्घटनामा परेकी उपाध्यक्ष शाहीको झोलामा ६४ हजार, नागरिकता, अन्य कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । जिप र सवारयात्रुको कुनै पत्ता नलागेपछि सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा कुरिनटारबाट गोताखोर हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दुर्घटनास्थलमा पुगेको हो ।

कुनिटारबाट दुर्घटनास्थलमा पुगेका शसस्त्र प्रहरी बल निरीक्षक बस्नेतका अनुसार कर्णाली नदीमा पानीको बहाव बढेकाले खोजीकार्य कठिन भएको छ । मङ्गलबार दुर्घटना भएको जिपमा पहिचान नभएका एक अर्को व्यक्ति रहेको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

शोकमा हुम्ला

मङ्गलबार जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित १० बेपत्ता भएपछि हुम्ला यतिबेला शोकमा डुबेको छ । कर्णाली नदीमा खसेको जिपमा सवार सबैको खोजीमा सिमकोट र खार्पुनाथ गाउँपालिकाका करीब एक हजार स्थानीयवासी संलग्न रहे पनि भेट्टाउन सकिएको छैन । एउटै जिल्लाका १० जना बेपत्ता भएपछि हुम्ला सोकमा डुबेको हो । रासस

Loading...