fbpx

रोकिएन टिपर आतंक : टिपरकाे ठक्करबाट झापा र उदयपुरमा तीन जनाको मृत्यु

विराटनगर । टिपरको ठक्करबाट उदयपुर र झापामा तीन जनाको ज्यान गएको छ । बुधवार उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ लाटी खोलामा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको हो । सोमबार झापाको गौरादह नगरपालिकामा– ७ मा एक जनाको मृत्यु भएको हो ।

बुधवार बिहान १० बजेको समयमा उदयपुरको लाटी खोला स्थित बसाहा बेल्टार सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २ क ७०९ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको स ४ प ३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएकाे थियाे । ठक्करबाट मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका– ४ का ३६ बर्षीय खगेन्द्र राई र मोटरसाईकलको पछाडी सवार रहेका सोही स्थानका ३५ बर्षीय जिवन राईको घटनास्थलमा मै मृत्यु भएको थियो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको छ ।  टिपर र मोटरसाईकल प्रहरीको नियन्त्रणमा  छ । तर  टिपर चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनापछि स्थानीयले लोकमार्ग अवरुद्ध गरेका छन् ।

त्यस्तै झापाको गौरादह नगरपालिका–७ भेटवालचोकमा सोमवार दिउँसो टिपरको ठक्करबाट १० बर्षीय बालकको मृत्यु भएको थियो । दिउँसो ३ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे १ ख २७०४ नम्बरको टिपरले सुनसरीको तरहरा घर भई गौरादहमा हजुरबुवाको घरमा बस्दै आएका कृष्ण गिरीका १० वर्षिय छोरा ओमराज गिरीको  मृत्यु भएको हो ।

बाटो काटने क्रममा टिपरले ठक्कर दिदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले टिपर र चालक गौरादह– ७ का ३१ बर्षीय सोमप्रसाद बजगाईलाई नियन्त्रण लिएको छ ।

Loading...