fbpx

सत्तापक्ष सांसदले भने ‘पहाडलाई बजेटमा बिभेद’

विराटनगर । बजेटमा पहाडी क्षेत्रलाई बिभेद गरेको भन्दै एक नम्बर प्रदेश सभामा सत्तापक्षका सांसदले बिरोध गरेका छन् । प्रदेश सरकारले आगामी वर्षकालागि प्रस्तुत गरेको बजेटको छलफलमा बोल्दै सत्ता पक्षका सांसद राजेन्द्र राईले पहाडी क्षेत्रलाई बिभेद भएको भन्दै चर्को बिरोध गरे ।

भोजपुरबाट निर्वाचित प्रदेश सांसद राईले ठूला योजनाहरु सरकारले तराइका तीन जिल्लामा मात्र सिमित गर्दै पहाडमा कोदो र फापरको उत्पादन बढाउने कुरामा मात्र सिमित राखेको बताए । उनले अलैंची पहाडी जिल्लामा उत्पादन हुने भएपनि सरकारले ह्वेर हाउस झापामा निर्माण गर्नकालागि बजेट बिनियोजन गर्नु बिभेद पूर्ण व्यवहार रहेको बताए ।

ठूला र प्रादेशिक रंगशालाहरु तराइमा मात्र निर्माण गर्न बजेट बिनियोजन गरेको तर पहाडमा कुनै रंगशाला बनाउन चासो नै नदिएको उनको गुनासो छ । सरकारले जातजातिहरुको बसोवास पहाडमा भएपनि सास्कृतिक संग्रहालय पनि मोरङको पथरीमा निर्माण गर्न लागेको र पहाडलाई सपना मात्र बाडेको बताउँदै राईले प्रदेश सरकारले आगामी वर्षकालागि निर्माण गरेको बजेट संघियताको मर्म अनुरुप नभएको बताए ।

नेकपाकै सांसद रामबहादुर मगरले बजेटमा देखाएको निस्किृय जनशक्त्तिलाई चलायमान बनाउन योजना नआएको र चालु बर्षको बजेटको समिक्षा नभएको बताए । नेकपाकै सांसद लछुमन तिवारीले सांसदहरुलाई छुटयाएको रकम पनि पर्याप्त नभएको, मन्त्रालयहरुले चालु खर्च अति नै धेरै बढाएको बताए । सरकारले कृषि र पर्यटनलाई मुख्य प्राथमिकता भनेपनि ९ प्रतिशत मात्र बजेट बिनियोजन गरेको बताए ।

मुख्य प्रतिपक्षी दल कांग्रेसका सांसद शिवनारायण गन्गाईले चालु बर्षको बजेटमा सरकारले बिनियोजन गरेका कार्यक्रमहरु सुरु नै नभइ हराएकोले आगामी बर्षको बजेट पनि सोही अनुसार हुने दाबी गरे । उनका अनुसार चालु वर्षमा सरकारले घोषणा गरेका जलबिद्युत्त उत्पादन गर्ने, होमस्टे चलाउने , केवलकार सञ्चालन गर्ने सगरमाथा सम्म राजमार्ग निर्माण गर्ने र एकिकृत सेवा सुरु गर्ने लगायतका कार्यक्रमहरु सुरु नै नभै हराएकोल खोजी गर्न आग्रह गरे ।

कांग्रेस सांसद शेखरचन्द्र थापाले सरकारले ल्याएको बजेट गियर लिन नसक्ने गाडीको जस्तो भएकोले गनतव्यमा पुग्न नसक्ने बताए ।
एक नम्बर प्रदेश सरकारले आगामी बर्ष २०७६।०७७ कालागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार वरावरको अनुमानित बजेट प्रस्तुत गरेको छ । १ असारमा अर्थ मन्त्रि ईन्द्रबहादुर आङबोले प्रस्तुत गरेको उक्त्त बजेटमाथि प्रदेश सभामा साँसदहरुको निरन्तर छलफल जारी छ ।

Loading...