fbpx

‘द भ्याइस अफ नेपाल सिजन २’ काे नयाँ निर्णायकमा राजु लामा र आस्था राउत

काठमाडाैं । नेपालकाे चर्चित रियालिटी शो ‘द भ्याइस अफ नेपाल’को दोस्रो सिजन साउन पहिलाे साताबाट सुरू हुने भएकाे छ। ‘द भ्याइस अफ नेपाल’ सिजन–२ को प्रसारण साउनको पहिलो साताबाट हरेक शुक्रवार र शनिवार रातको ८ बजे हिमालय टेलिभिजनमा प्रदर्शन हुनेछ ।

पहिलो सिजनमा दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेल निर्णायककाे रूपमा थिए  । चार कोच मध्ये दीप श्रेष्ठ र प्रमोद खरेल दोहोरिएका छन् भने सनुप र अभयाको ठाउँमा गायक राजु लामा र गायिका आस्था राउतलाई अनुबन्धित गरिएको छ ।

निर्णायक  फेरिएको  विषयमा निर्देशक लक्ष्मण पौडेलले सनुप र अभयालाई निकालेको नभएर नयाँ पुस्तालाई स्वागत गरेको जानकारी दिए । कार्यक्रमको आवश्यकता अनुसार अन्य सिजनमा फेरी पनि सनुप र अभयालाई लिन सक्ने सम्भावना रहेको उनले बताए । दोस्रो सिजनको डिजिटल अडिशन सम्पन्न भइसकेको छ र उक्त अडिसनबाट ११० जना प्रतिस्पर्धी छनोट गरिएको छ ।

डिजिटल अडिशनमा दुई हजार २ सय प्रतिस्पर्धी सहभागी भएका थिए । सिजन २ को ब्लाईण्ड अडिसन आगामी शुक्रवारबाट सुरु हुनेछ । पहिलो सिजनमा कार्यक्रम राम्रो नभएको भन्ने विभिन्न गुनासो आएकाले यसपटक नयाँ  ढंगबाट कार्यक्रम सञ्चालन हुने भएको छ । स्टुडियो निर्माणका लागि मात्रै दुई करोड रुपैयाँ लागेको छ ।

Loading...