fbpx

तराई क्षेत्रमा आतङ्क सृजना गर्ने डेंगु , के हामी तयार छौ ?

नेपालमा सन् २००४ मा देखिएकाे डेंगुकाे संक्रमण भयावह

पृष्ठभूमि
नेपालमा केही वर्ष अघिसम्म नसुनिएको र नपढीएको डेंगु (डेंगी) फाटफुट देखिदै जादा अब भने महामारीको अवस्थामा देखिन थालेको छ । यसैलाई ध्यानमा राखी यो लेख तयार पारिएको हो। आशा छ यसले केही जानकारी प्रदान गर्ने छ ।

डा. सूर्य पराजुली, डेंगु राेग अनुसन्धानकर्ता

   विश्वको स्थिति
झन्डै ३ सय वर्षअगाडिबाट डेंगु उष्ण प्रदेशीय देशको लागि टाउको दुखाइको विषय बन्दै आइरहेको छ ।

सन् १६३५ मा फ्रेन्च ओएस्ट इन्डिजमा यो पहिलोपटक महामारीको रुपमा देखिएको थियो । १७ औं, १८ औं, १९ औं र २० औं शताब्दी भर फाटफुट महामारीको रुपमा डेंगु देखिएको थियो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अध्ययन गर्दा डेंगु संक्रमण संख्या र संक्रमित देशको संख्या अपत्यारिलो तरिकाले उच्च रुपमा वृद्धि हुँदै गइरहेको छ ।

सन् १९९०–१९९९ बीच करिब ०.४७ मिलियन रहेको डेंगु रोगीको संख्या सन् २०००–२००८ सम्म आइपुग्दा ३ गुणाले बढ्दै १.६६ मिलियन पुगेको थियो। यो सांच्चै भयावह स्थिति पनि हो ।

संसारभरका करिब २.५ बिलियन व्यक्तिहरु डेंगु संक्रमणको जोखिममा रहेको विश्व स्वास्थ्य संगठनका विभिन्न तथ्याङ्कबाट देखिन्छ । ५० मिलियन डेंगु संक्रमण प्रत्येक वर्ष देखिने गर्दछ । झण्डै ५ लाख मानिसहरु प्रत्येक वर्ष यसैका कारण अस्पताल भर्ना हुने गर्दछन् ।

दक्षिण पूर्वी एशियाको स्थिति

करिब ७५ प्रतिशत ९१.३ बिलियन डेंगु संक्रमण दक्षिण पूर्वी एसियामा मात्र हुने गरेको देखिएको छ । सन् २००३ सम्ममा यस क्षेत्रका ८ वटा देशमा डेंगु संक्रमण देखिएकोमा सन् २००४ बाट नेपाल, भुटान तथा टिमोर–लिस्टेले पनि विश्व स्वास्थ्य संगठनलाई डेंगु संक्रमणबारे जानकारी गराएका थिए । श्रीलंका, बंगलादेश र भारतमा डेंगु संक्रमण दर ह्वात्तै बढेको छ । डेंगु सार्ने विषाणुको जाति–प्रजाति पनि सबै तिर फैलदो क्रममा छ ।

नेपालमा डेंगुको स्थिति

नेपालमा सन् २००४ मा पहिलोपटक एक जना जापानी स्वयंसेवकमा डेंगु संक्रमण देखिएको थियो । सन् २००६ मा भने यसले महामारीको रुप लियो । झन्डै १ सय ४० जना संक्रमित भएको अनुमान गरिएकोमा ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । यसै बर्ष बाँके, दाङ, पर्सा, बर्दिया, काठमाडौं, रुपन्देही, झापा, कपिलवस्तु, धादिङमा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

 

सन् २००७ मा २७ जना, सन् २००८ मा १० जना, सन् २००९ मा ३० जना संक्रमित भएका थिए । सन् २०१० मा डेंगु संक्रमणले नेपाललाई त्रसित बनायो, करिब ४ हजार ५ सय २९ जना संक्रमित भएको अनुमान गरिएकोमा ९ सय १७ जना प्रयोगशालामा परिक्षणमा प्रमाणित भयो भने ५ जनाको त मृत्यु नै भयो । यसले गर्दा नेपालको तराई क्षेत्रमा आतङ्क नै सिर्जना पनि गरेको थियो ।

सन् २०११ मा ११ सय ९२ जनालाई डेंगु संक्रमण भएको अनुमान गरिएकोमा ७९ जना प्रयोगशालामा प्रमाणित भएका थियो । सन् २०१२ मा मात्र देशभर करिब १८३ जनालाई डेंगु संक्रमण पुष्टी भएको थियो । यसै वर्ष डेंगु संक्रमण नेपालका विभिन्न ठाउँमा फाटफुट देखिदै जाँदा झापामा भने पहिलो पटक आतङ्क नै मच्चाएको थियो । अक्टोबर ३१ बाट डेंगु संक्रमण शुरु भएकोमा डिसेम्बेर ३० सम्ममा ७२ जना डेंगु रोगी प्रमाणित भएको झापा जिल्ला उच्च जोखिममा रह्यो । एक महिनाको छोटो अवधिमा यति धेरै संक्रमित हुनुबाट यो रोग महामारीको रुपमा सजिलै फैलन सक्ने पुष्टि भइसकेको छ ।

मकवानपुरको मनहरी, चितवनमा,कैलाली जिल्लाको दोदोधरा गाविसमा डेंगु भएको समाचार आएको थियो । यसै बर्षको अगष्ट २१ तारिखमा दाङको भालुवाङमा २ वर्षकी बालिकामा डेंगु संक्रमण पत्ता लागेको थियो । जुन ४ तारिखका चितवनमा दुईजना डेंगु रोगी भेटिएका थिए ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०१३ मा ६४२ जनामा डेंगी प्रमाणित भएको थियो जसमध्ये चितवन, झापा, पर्सा, रौतहट, कंचनपुर, रुपन्देही, भरतपुरमा बढी डेंगु प्रमाणित भएको थियो । सन् २०१४ मा ३५६, २०१५ मा १३५, २०१६ मा १५२९, २०१७ मा २१११ र सन् २०१८ मा ८११ लाई डेंगु भएको पुष्टी हुँदै गर्दा केही मृत्युको घटना पनि भएको थियो । यो त स्वास्थ्य संस्थामा आएर पत्ता लागेको संख्या मात्र हो । हजारौको संख्यामा देशभर डेंगु संक्रमण भएको हुनसक्छ ।

परिचय

डेंगु एक भाइरस द्वारा लाग्ने संक्रमण हो, जुन एडिज जातको डेंगु संक्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने गर्दछ। डेंगु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेकोमा यी सबै नेपालमा पाइन्छन्, जसलाई डेंगु भाइरस १,२,३,४ भनिन्छ ।

एडिज लामखुट्टे

विभिन्न प्रकारका एडिज लामखुट्टे मध्ये एडिज एलवोपिक्टस र एडिज एजेपटाई मुख्य हुन् । एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन् । त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ । यो लामखुट्टेको विशेषता अरु लामखुट्टेभन्दा फरक प्रकृतिको छ । यसले दिउँसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ ।

पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ । आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब ३ सयवटा अण्डा पार्दछ । सन् २००३–४ मा श्रीलंकामा गरिएको एक अनुसन्धानले यी लामखुट्टेहरु मुख्यत पानी संकलन गर्ने कन्टेनर, फालिएका टायर, गमला, कुलो तथा पानी भरिएका खाल्ड–खुल्डीहरुमा देखिएका थिए । हालसालै नेपालमा सबै प्रकारका भाइरस पाइनु र संक्रमण दर बढ्दै जानुले भविष्यमा भयावह अवस्था नल्याउला भन्न सकिन्न ।

डेंगु सर्ने तरिका

अहिलेसम्म डेंगु भाइरस मानिसबाट मानिसमा सरिसकेको छैन् । डेंगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेंगु सर्दछ । लामखुट्टेको कारणले भन्दा पनि मानिसहरुको तीव्र बसाइ-सराइ ,भ्रमण आदिले डेंगु सार्न सहयोग गरिरहेको छ । अर्को महत्वपूर्ण कुरा के छ भने संक्रमित लामखुट्टेको अण्डा मा यो भाईरस बाच्ने भएकोले सो अण्डाबाट पुन आफै संक्रमित लामखुट्टेको बृदि हुन्छर त्यसैले ट्रान्सओभरीयन ट्रान्समिसन भनिने यो प्रक्रियाले डेंगु फैलन सहयोग गर्छ ।

उच्च जोखिममा पर्ने वर्गहरु

एक वर्षभन्दा मुनिका बच्चाहरु र ६० वर्ष माथिका वृद्धवृद्धाहरु, मोटोपन भएका व्यक्तिहरु, गर्भवती महिला, पेप्टिक अल्सर भएकाहरु, रगत नजम्ने रोग भएका, थ्यालेसेमिया, जन्मजात मुटुका रोगीहरु, मधुमेह, उच्च रक्तचाप, कलेजोको सिरोसिस, मृगौला फेलियर भएका दीर्घ रोगीहरु, स्टेरोइड, पेनकिलर आदि प्रयोग गरिरहेकाहरु उच्च जोखिममा पर्दछन् ।

लक्षण तथा चिह्नहरु

विश्व स्वास्थ्य संगठनले डेंगु संक्रमणलाई विभिन्न तरिकाले विभाजन गरेको छ । डेंगुको प्रकृति अनुसार लक्षण तथा चिन्हहरु फरक फरक हुन सक्छन। डेंगु भाइरस संक्रमण पश्चात् कतिपयमा कुनै लक्षण तथा चिह्नहरु नै नदेखिने हुन सक्दछ ।

साधारण प्रकारको डेंगु ज्वरोमा अत्याधिक १०३–४ डिग्री सेन्टिग्रेडसम्म ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नीहरु दुख्ने, छालामा रगत जमेका राता खटिराहरु देखिने गर्दछन् । कसै–कसैमा थप जटिलताहरु उत्पन्न हुन सक्दछन् । जसमा विस्तारै रगतमा रहेका प्लेटिलेट्सको संख्या घट्दै जान्छ । प्लेटिलेट्स रगत जमाउने महत्वपूर्ण तत्व हो । अझ जटिलता बढ्दै गएमा शरीरका विभिन्न भागबाट जस्तोस् नाक, गिजा आदिबाट आँफै रगत बग्न थाल्दछ । पिसाबमा रगत देखिने, रगत बान्ता गर्ने, दिशा कालो हुने हुन्छ । पिसाबको मात्रा कम हुनु, श्वास फेर्न गाह्रो हुने गर्दछ । कसैको चाहिँ यस्तो स्थितिमा पुगेर मृत्युसमेत हुने गर्दछ ।

डेंगु संक्रमणमा बुझ्नुपर्ने महत्वपूर्ण कुरा पहिलो तीन दिन अत्याधिक ज्वरो आउछ । त्यसपछिका चौथो र पाँचौ दिन अति नै संवेदनशील दिनहरु हुन् । क्रमश  शरीरको तापक्रम घट्ने, रक्तचाप घट्ने, शरीरमा रगतको कमी हुने, शरीरका महत्वपूर्ण अंगले काम गर्न छोडेर मानिसको मृत्यु हुन  सक्छ, जसमा बिरामीका अंगहरुले काम नगरी मानिसको मृत्यु पनि हुन सक्दछ तर यसपछिका छैठौं देखि दशौं दिन भित्रमा पुन साधारण जीवन प्रक्रिया तर्फ फर्किन थाल्दछन् ।

उपचार पद्धति

डेंगु भाइरल संक्रमण हो । प्राय भाइरल संक्रमणमा हामीले लाक्षणिक तथा सहयोगी उपचार प्रक्रिया अपनाउने गर्दछौं । यसको आफ्नै एन्टीभाइरल औषधि भने छैन् । चाँडो भन्दा चाँडो रोगको पहिचान गर्नु अत्यन्त आवश्यक छ । समयमै उपचार सुरु गर्दा जटिलता र मृत्युबाट बचाउन सकिन्छ । हिजोआज नेपाल सरकारले डेंगु प्रभावित जिल्लाका स्वास्थ्य संस्थाहरुमा निस्शुल्क र्यापिड डाइगोनोष्टिक टेस्ट किट उपलब्ध गराएको छ । तसर्थ, माथिका लक्षण देखिएमा तुरुन्त परीक्षणको लागि जानुपर्दछ। एस्प्रिन, आइबुप्रोफिन लगायतका औषधिको जथाभावी प्रयोग गर्नु हुदैन् । बिरामीले प्रशस्त पानी तथा झोल पदार्थहरु सेवन गर्नुपर्दछ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्दछ ।

डेंगुबाट बँच्ने उपायहरु

दिउँसो टोक्ने लामखुट्टे प्रायस एडिज हो । तसर्थ, यसको संक्रमणबाट बच्नु एकदम महत्वपूर्ण हुन्छ । थोरै र सफा पानी जम्न सक्ने भाँडाहरु जस्तोस् गाडीका काम नलाग्ने टायर, खाली बट्टा, गमला, कुलर आदिमा पानी जम्न दिनु हुँदैन । गमलाहरुमा रहेका पानीलाई हप्ताको २ पटक परिवर्तन गर्नुपर्दछ ।

पानीका ट्याङ्कीलाई लामखुट्टे छिर्न नसक्ने गरी ढाकेर राख्नुपर्दछ । दिउँसो पनि पूरा बाहुला भएका शरीर पूरै ढाक्ने कपडाहरु प्रयोग गर्नुपर्दछ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि दल्न सकिन्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुलभित्र सुत्नुपर्दछ । उच्च जोखिममा रहेका साना बालबच्चा र दीर्घरोगीले त जुनसुकै बेला झुलको प्रयोग गर्नुपर्दछ । घरका झ्याल–ढोकामा जाली लगाउनुपर्दछ । घरवरिपरि सफा–सुग्घर राख्नु, पानी जम्ने खाल्टाखुल्टी पुर्नुपर्दछ । डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्दछ ।

डेंगु रोग बढ्न सक्ने कारणहरु

हिजोआज बढेको अव्यवस्थित शहरीकरण र अव्यवस्थित औद्योगिकीकरण एक कारण हो । नेपालमा शहरी इलाकामा पानीको अभाव हुनु तथा फोहोरमैला व्यवस्थापनमा देखिएका कमजोरीहरुले डेंगु संक्रमण बढाउदै लैजाने देखिन्छ । लामखुट्टेले झन्डै ३०० मिटर क्षेत्रसम्म ओहोरदोहोर गर्न सक्दछ । तसर्थ, डेंगु बढ्ने कारणमा मानिसको अत्याधिक भ्रमण र व्यापारको लागि टाढा जाने प्रवृत्ति पनि कारक तत्व नै हुन् ।

हिजोआज प्लाष्टिकका सामग्रीहरु, टायरको अधिक प्रयोग र प्रयोग पछि त्यसै छोड्ने प्रवृत्तिले गर्दा डेंगु संक्रमण बढाएको पाइन्छ । डेंगु प्राय पानी पर्ने अत्याधिक गर्मी महिनाहरुमा बढी मात्रामा देखिन्छ । हिजोआज बढेको खडेरी तथा ग्रिन हाउस इफेक्टका कारण पृथ्वीको बढ्दो तापक्रमले भविष्यमा डेंगु महामारी निम्तिने खतरा छ । सन् २०८५ सम्ममा यही क्रममा बढ्दो जनसंख्या र वातावरणीय तापक्रम वृद्धि हुँदै गएमा संसारका करिब ५० प्रतिशत जनसंख्या डेंगु संक्रमणको उच्च जोखिममा रहने अनुमान छ ।

डेंगु रोकथाममा चालिएका कदमहरु

इन्टरनेशनल हेल्थ रेगुलेशन २००५ ले संसारभर डेंगु महामारी फैलिन सक्ने कारण जनाउँदै अन्तर्राष्ट्रिय समुदायले विशेष ध्यान दिनुपर्ने भनेको छ । नेपालले पनि आफ्ना विभिन्न राष्ट्रिय योजना तथा नीतिहरुमा यसबारे उल्लेख त गरेको छ तर अझै पनि उचित कार्यान्वयन भने बाँकी देखिन्छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकायले एडिज नियन्त्रणमा विशेष कार्यक्रम गर्ने, स्वास्थ्य चेतना जगाउने, खोजपड्ताल प्रणालीलाई बलियो बनाउने, परीक्षणको लागि सामग्री सहज पार्ने, स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने, महामारी फैलिए नियन्त्रणको लागि उच्च सतर्कता अपनाउने नीति लिए पनि अझै पूर्ण रुपमा सफलता हासिल गरिसकेको छैन । गाँउ गाँउमा गएर लामखुट्टेका लार्भा नष्ट गर्ने कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, बिद्यालय स्वास्थ्य कार्यक्रम खासै हुन सकिरहेको छैन ।

डेंगु र खोप विकास

डेंगु संक्रमण डरलाग्दो हुनुमा यस विरुद्धका खोपहरु उपलब्ध नहुनु पनि हो तर पनि यस विरुद्ध विभिन्न खोपहरु बन्ने प्रक्रियामा सफलता हात लाग्दै छ । सम्भवत केही वर्षमा खोप उपलब्ध हुन सक्ने सरोकारवालाले जानकारी गराएका छन् ।

सारांश

नेपालमा डेंगु संक्रमण दर बढ्दै गएको छ । बढ्दो तापक्रम, अव्यवस्थित शहर विकास तथा औद्योगिकीकरण, जथाभावी फालिएका टायर, प्लाष्टिक, पानीको अभाव कारक तत्वहरु हुन् । खोप, औषधि र जनचेतना नहुनु जस्ता कुरा महामारी फैलन सक्ने खतरा छ । नेपाल सरकारले यसको नियन्त्रणमा प्रत्यक्ष रुपमा विशेष व्यवस्था गर्नुपर्ने देखिन्छ । श्रीलंकाको उदाहरण लिदा त्यहाँ प्रेसिडेन्सियल डेंगु टास्कफोर्सको स्थापना पश्चात् डेंगु संक्रमण ह्वात्तै घटेको अनुसन्धानबाट प्रमाणित भइसक्दा कतै यस्तै संयन्त्र नेपालमा आवश्यक नहोला भन्न सकिन्न ।

सधैं सरकारको मुख ताक्नेभन्दा पनि हामीले आफ्नो बानीव्यहोरामा परिवर्तन गरेर डेंगु नियन्त्रणका उपायहरु व्यक्ति, परिवार र समुदायले एकसाथ थालनी गर्नु सबैभन्दा उपयुक्त कदम हो । डेंगु महामारी भएमा के हामी साँच्चै तयार छौं ? सरकारी तथा सम्बन्धित निकायहरुले सोंच्नैपर्ने भएको छ । अन्त्यमा, डेंगु नियन्त्रणमा तपाइ हामी सबै मिलेर एकसाथ अघि बढौं ।

(लेखक पराजुली विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल सामुदायिक अनुसन्धान तथा विकास कार्यक्रम विभाग प्रमुख हुनुहुन्छ)

प्रतिक्रिया

Loading...