fbpx

डेंगु सार्ने लामखुट्टेको टोकाइबाट यसरी बचौँ

विराटनगर ।
पछिल्ला दिनमा प्रदेश नम्बर एकका विभिन्न स्थानमा डेंगुको संक्रमण फैलिएपछि मानिसमा एकखालको त्रास फैलिएको छ । डेंगु नियन्त्रणकालागि प्रदेश र स्थानीय सरकारले पनि अनेकौ उपायहरु आपनाइरहेको छ ।

यसबाट बच्नको लागि हामीले पनि सतर्कता अपनाउन जरुरी हुन्छ । डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । नेपालमा यसअघि धेरै मात्रामा एडिस एजेप्टाई लामखुट्टे, यसका लार्भा र प्युपा समेत फेला परेका छन् ।

यी लामखुट्टेको कालो जिउमा सेतो छिर्के मिर्के भएका हुन्छन् । यसलाई टाइगर लामखुट्टे भनेर पनि चिनिन्छ । धरानमा पहिलो पटक देखिएको यो लामखुट्टे अहिले आसपासको क्षेत्रमा धेरै स्थानमा पाइएको छ । यो लामखुट्टेले दिउँसो मात्र टोक्ने गर्छ भने यसले एकदमै छिटो रोग फैलाउने गर्छ ।

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै असाध्यै टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा दुख्ने, ढाड, जोर्नी तथा मांसपेसी दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, शरीरमा रगत जमेको दागहरू देखापर्ने तथा बेहोस हुने जस्ता लक्षणहरू देखा परे डेंगु हुन सक्छ ।

डेंगु ज्वरोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धिलाई रोक्नु पर्छ । लामखुट्टेको वृद्धि रोक्नका लागि घरको छेउछाउ खाल्डाखुल्डी, फालिएका भाँडाकुडा, रुखका टोड्का, गमला, खाली बट्टा, खाली ड्रमहरू आदिमा पानी जम्न नदिनलाई घर वरिपरि सफा राख्ने गर्नुपर्छ।

सुत्दा सधै झुलको प्रयोग गर्नुपर्छ, साथै साना बालबालिकाहरुलाई दिउँसो वा राती दुवै समयमा झुलभित्र नै सुताउनु पर्छ । यो लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुका साथै टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने मल्हम लगाउनु पर्छ ।

लामखुट्टे छिर्न नदिनका लागि घरका झ्याल ढोकामा जाली लगाउनु पर्छ । यदि सावधानी अपनाउदा अपनाउदै पनि संक्रमण देखिएका बिरामीलाई अस्पतालमा भर्ना गरि उपचार गराउनु पर्ने हुन्छ ।

प्रतिक्रिया

Loading...