fbpx

वीरेन्द्र सभागृहकालागि मन्त्रीले पठाएको चार करोड फ्रिज हुँदै

मेयर भन्छन् - बजेट ढिलाे आयाे

विराटनगर ।

विराटनगरको वीरेन्द्र सभागृहको मर्मतकालागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पठाएको रकम फ्रिज हुने अवस्थामा पुगेको छ । विराटनगर महानगरपालिकाले बजेट खर्च गर्न चासो नदिएपछि मन्त्री पण्डितले पठाएको चार करोड रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको हो ।

 

आफ्नो निर्वाचन क्षेत्रमा रहेको सभागृह जिर्ण बनेपछि मन्त्री आफैले चासो लिएर चार करोड रुपैयाँ मर्मतकालागि पठाएका हुन् । तर महानगरपालिकाले बजेट अपुग भएको बताउँदै खर्च नगरेपछि मन्त्री पण्डित विराटनगरका मेयर भीम पराजुलीसँग असन्तुष्ट बनेका छन् ।

गत माघ १३ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई पत्र पठाउँदै मर्मत सम्हारमा बजेट खर्च गर्न निर्देशन दिएको थियो । तर महानगरपालिकाले थोरै बजेट अन्तिम समयमा आएको बताउँदै काम गरेन् ।

मेयर भन्छन् – बजेट ढिलो आयो

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली वीरेन्द्रसभा गृह मर्मतकालागि मन्त्रायलले पठाएको बजेट नै ढिलो आएको बताउँछन् । ढिलो गरि थोरै बजेट आएका कारण फ्रिज हुने अवस्थामा पुगेको उनको भनाई छ । अन्य शीर्षकमा खर्च गर्न नमिल्ने भएका कारण महानगरले बजेट खर्च गर्न नसक्ने उनले बताए ।

मेयर पराजुलीका अनुसार महानगरपालिकाले वीरेन्द्रसभा गृहको पूननिर्माणकालागि २३ करोड हारहारी खर्च लाग्ने डिपिआर तयार पारेको छ । नयाँ डिपिआरका आधारमा काम गर्न मन्त्रीले पठाएको बजेट नपुग्ने उनको दावी छ । सरकारले लगानीको स्रोत सुनिश्चितता नभए सम्म टेण्डर प्रकृयामा नजान निर्देशन दिएका कारण काम गर्न नसकिएको उनको भनाई छ ।

महानगरपालिकाले नगरबिकास कोषसँग लगानीकालागि प्रस्ताव पेस गर्ने तयारी रहेको उनले बताए । काठमाडौंको राष्ट्रिय सभागृहको शैलीमा तयार गर्ने डिपिआर तयार भएको बताउँदै उनले मन्त्री पण्डितलाई बजेटकालागि पहल गरिदिन आग्रह गरेको बताए ।

 

प्रतिक्रिया

Loading...