‘दिमाग खराब’ फिल्मबाट फिल्म निर्देशनमा फर्किँदै निश्चल

नेपाली फिल्म क्षेत्रलाई अर्कै बाटोमा मोड्न सफल भएका निर्देशक हुन्, निश्चल बस्नेत । तर, निश्चल अहिले फिल्म निर्देशनबाट टाढा रहेर अभिनयतर्फ व्यस्त हुन थालेका छन् । तीन वर्षदेखि निश्चलले कुनै फिल्म निर्देशन गरेका छैनन् ।

हालै उनले हेमराज बिसी निर्देशित फिल्म ‘घामड शेरे’मा उनले आफ्नी श्रीमती स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । फिल्ममा अभिनयसँगै उनले म्यूजिक भिडियो पनि बाक्लै गरिरहेका छन् । केही फिल्मका गीतहरुमा उनले आफ्नो स्वरसमेत दिइसकेका छन् ।

अब भने उनी फिल्म निर्देशनमा फर्किने भएका छन् । निश्चल हाल ’दिमाग खराब’ नाम फिल्मको तयारीमा रहेका छन् । निश्चलले ’दिमाग खराब’लाई आफ्नो ब्यानरमा दर्ता गराएको जानकारी प्राप्त छ । उनले ’टकलजंग भर्सेस टुल्के’ पछि यो नाममा फिल्म बनाउने तयारीमा थिए ।

तर, करीब ४ वर्ष अगाडि चलचित्र विकास बोर्डमा दर्ता नै नगरि हतारमा फिल्म घोषणा गर्दा उनको यस नाममा अर्कै ब्यानरले चलचित्रको नाम दर्ता गराएका थिए । तर, यो फिल्म बन्न सकेन । त्यसैले यसै वर्षबाट उनी यस फिल्मको छायांकन सुरु गर्ने तयारीमा रहेका छन् ।

केही महिनादेखि फिल्मको फाइनल स्क्रिप्टमा काम भइरहेको छ । फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहने सम्भावना रहेको छ । यस बारे अरु खबर सार्वजनिक भएको छैन । यस पछि चाँडै नै निश्चलले ’दुई रुपैयाँ’ टिमको साथ फिल्म ’डामाडोल’ पनि गर्ने तयारीमा गर्दै छन् ।

Loading...