fbpx

नेपाल प्रजातान्त्रीक प्रकृयामा प्रतिबद्ध : प्रधानमन्त्री ओली

लण्डन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने बताएका छन् । नेपालमा सरकारले स्वतन्त्र प्रेस तथा नागरिक हक कटौती गरिरहेको भन्ने आरोप लागिरहेको बेला प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

युरोप भ्रमणमा रहेका ओलीले बुधवार बिहान लन्डनस्थित नेपाली दूतावासद्वारा आयोजित एक समारोहलाई सम्बोधन गर्दै कार्यक्रममै सहभागी ब्रिटिश सरकारका एक प्रतिनिधिलाई आफ्नो सरकारले साँचो अर्थमा प्रजातन्त्रलाई बलियो बनाउन काम गरिरहेको सन्देश पुर्याउन समेत आग्रह गरेका छन्

ब्रिटेनको परराष्ट्र राज्यमन्त्री मार्क फिल्डले स्वतन्त्र मिडिया, नागरिक समाज तथा स्वतन्त्र न्यायपालिकालाई बलियो बनाउन नेपाल सरकारलाई आग्रह गरेपछि जवाफमा ओलीले प्रजातान्त्रिक प्रकृयाबाट पछि नहट्ने बताएका हुन् ।
मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार ऐनमा गर्न खोजिएको संसोधन, सूचना तथा प्रविधि व्यवस्थापन विधेयकजस्ता प्रस्तावित ऐनहरूले अभिव्यक्ति स्वतन्त्रता तथा सरकारको आलोचना गर्न पाउने हकलाई संकुचित गर्ने भन्दै विरोध भइरहेको छ ।

बेलायतका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदीले गएको दुई सय वर्षभन्दा बढी समयदेखि कुनै पनि ब्रिटिश प्रधानमन्त्रीले नेपालको भ्रमण नगरेको भन्दै अब त्यसको तयारी गर्नुपर्ने जनाएका थिए।
स्विट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेपछि सोमवार प्रधानमन्त्री ओली ब्रिटेन गएका हुन् ।

ब्रिटेन पुगेका प्रधानमन्त्री ओलीले ब्रिटेनमा बसोबास गर्ने नेपालीहरूलाई आफ्नो कारोबार टुङ्ग्याएर सकभर छिटो नेपाल फर्कन आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओली बुधवार नै भूमिगत रेल चढेर फ्रान्सतर्फ लागेका छन् ।
बिबिसीको सहयोगमा

प्रतिक्रिया

Loading...