प्रदेश १ का तीन जिल्लामा डेंगुको प्रकोप, नियन्त्रण गर्न प्रदेश सरकारले काम थाल्यो

विराटनगर ।

सुनसरीको धरानमा प्रकोपको रुपमा फैलिएको डेंगुको संक्रमण झापा र मोरङमा पनि देखिएको छ । एक महिना अघि धरानबाट सुरु भएको डेंगुको संक्रमण मोरङ र झापामा पनि फैलिएको हो ।

गत बैशाख ३१ गते धरानमा डेंगुको संक्रमण देखिएको थियो । बुधवार सम्म सुनसरीमा ५४८, मोरङमा ९ र झापामा २ जनामा डेंगुको संक्रमण देखा परेको छ ।

बुधवार साँझ सम्म सुनसरीमा मात्र संक्रमितको संख्या पाँचसय ४८ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४७४, बिजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल इटहरीमा १ र इटहरी अस्पतालमा ३ जना विरामीको उपचार भइरहेको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक निर्देशक डाक्टर विकास साहका अनुसार बुधवार सम्म डेंगुको संका लागेर १५७४ विरामी अस्पतालमा आएका थिए । ती मध्ये ४७४ जनामा डेंगुको संक्रमण पाइएको थियो ।

झापामा २ जना संक्रमित देखिएका छन् भने मोरङमा डेंगु संक्रमितको संख्या ९ पुगेको छ ।

मोरङको उर्लाबारी नगरपालिका, केरावारी गाउँपालिका, बेलवारी नगरपालिकामा १–१ जनामा डेंगुको संक्रमण देखिएको छ भने सुन्दरहरैचा नगरपालिकामा ४ र विराटनगर महानगरपालिकामा २ जनामा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार संक्रमण देखिएपछि सबै स्थानीय तहले स्फ्रेको काम सुरु गरेका छन् ।

एक हप्ता भित्र नियन्त्रण गर्ने लक्ष्य

डेंगुको संक्रमण फैलिएपछि प्रदेश सरकारले सर्तकता अपनाउँदै नियन्त्रणकालागि एक हप्ते कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ । बुधवार मुख्ययमन्त्री कार्यालयमा भएको सर्बपक्षिय छलफलपछि प्रदेश सरकारले एक साताको कार्ययोजना बनाएर काम अघि बढाउने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । ‘आज सम्म हामी उपचारमा बढी केन्द्रित भएका थियौं ।’ बैठकमा सहभागि घिमिरेले भने ‘अब एक हप्ता तीनवटै जिल्लामा नियन्त्रणको काम तिब्र बनाउँछौं ।’ एक हप्ता भित्र केहीहद सम्म डेंगु नियन्त्रणमा आउने उनको दाबि छ ।

बुधवार बसेको बैठकले मेची अस्पताल झापा कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगुको उपचारकालागि व्यवस्था गरिने निर्णय गरेको छ । बैठकले निजी अस्पतालहरुलाई पनि आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।

प्रदेश सरकारले डेंगुको संक्रमण देखिएका जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीलाई नियन्त्रणमा भएका कदमका विषयमा दैनिक प्रदेश सरकारलाई रिपोर्टीङ गर्न निर्देशन दिएको छ ।

डेंगु नियन्त्रण गर्न प्रदेश सरकारबाट ८० लाख बजेट

डेंगुको संक्रमण फैलिएपछि प्रदेश सरकारले नियन्त्रणकालागि ८० लाख बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक बर्षकै बजेटबाट धरानबाट फैलिएको डेंगु रोग नियन्त्रणकालागि ८० लाख रुपैया“ निकासा गरी कार्यन्यनमा पठाउन लागिएको मुख्यमन्त्री शेरधन राईले बताए ।

प्रदेश सभाको बैठकमा उठेको जवाफको उत्तर दिने क्रममा उनले डेंगु प्रभाावितको उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई थान भेन्टिलेटर उपलब्ध गराउने तयारी रहेको बताए । डेंगु रोग नियन्त्रणमा आवश्यक कदम चालिसकेको बताउ“दै उनले संक्रमण फैलिएपछि ५० लाख रुपैया“ तत्कालै विनियोजन गरिएको जानकारी दिए ।

डेंगु फैलिएपछि प्रदेशसभाको सामाजिक विकास समितिले प्रभावित क्षेत्रमा आवश्यक स्रोत साधन परिचालन गर्न, विरामीको उपचारमा खर्च निःशुल्क गर्न निर्देशन दिएको थियो ।

Loading...