fbpx

इटहरीमा विषादी हालेर पकाएको आँप नियन्त्रण अभियान सुरु

इटहरी ।

इटहरी उपमहानगरको वजार अनुगमन टोलीले ४० कार्टुन विषादी प्रयोग गरेको आँप नियन्त्रणमा लिएको छ ।  इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्दा आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा विषादि (कारवाईड) प्रयोग गरेर पकाएको आँप भेटिए पछि नियन्त्रणमा लिइएको हो ।

अनुगमनको क्रममा आँप प्याक गरिएको कार्टुनमा सेतो कागजमा कारवाइड राखिएको भेटिएपछि नियन्त्रण लिएको हो । कार्वाइडको प्रयोग नेपालमा प्रतिबन्धित छ । कारवाईड प्रयोग गरेर पकाएको आँपको ४० कार्टुन उठाएर उपमहानगरमा ल्याइएको छ । विषादीयुक्त आँपलाई नष्ट गरिने उपमहानगरले निर्णय गरेको छ । खाद्य विज्ञ केपी लम्सालका अनुसार कारवाईड प्रयोग गरिएको आँप खाँदा पाचन प्रणालीमा असर गर्छ । लम्सालले आँखा र छालामा पनि विषादी मिसिएका आँपले असर गर्ने जानकारी दिए ।

कारवाईड हालेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
कारवाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, वान्ता हुनेलगायतका शारीरिक समस्या देखिन सक्छ भने गम्भिर प्रकारको क्यान्सरसमेत हुनसक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

प्रतिबन्धित कारवाईड प्रयोग गरेर पकाईएको आँप इटहरीमा खुलेआम बिक्री भइरहेको पाइएपछि उपमहानगरले बजार अनुगमन गरेको उपभोक्ता हित संरक्षण शाखा अधिकृत प्रकृति चौलागाइले बताइन् । कारवाईड प्रयोग गरेर पकाइएको आँप हेर्दा पहेलो, लोभलाग्दो र आकर्षक देखिने भएपनि मानव स्वास्थ्यका लागि हानिकारक हुने अनुगमनमा सहभागि उपभोक्ता हित मंचका प्रतिनिधि डिल्ली दाहालले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका खाद्य निरीक्षक सिर्जन जोशीले नेपालमा कारवाईड प्रतिबन्धित भएको जानकारी दिदै यो हालेर आँप पकाउन नपाउने बताए । कारवाईड प्रयोग गरेर पकाएको आँप खाँदा क्यान्सर समेत हुने भएकाले नेपालमा यसको प्रयोग बन्द गरिएको हो ।

खाद्य ऐन २०२३ को दफा ५ उपदफा ३ मा कारवाईड प्रयोग गरेमा सात महिनादेखि एक वर्षसम्म कैद र पाँच देखि दश हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले कार्वाइड हालेको आँप वेच्न राखेको पाइए उपमहानगरमा तुरुन्त खवर गर्न उपभोक्ता सँग आग्रह गरिन् ।

प्रतिक्रिया

Loading...