‘रोनाल्डो विश्वकै सबैभन्दा महान खेलाडी हुन्’

एजेन्सी,

पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले हालै राष्ट्रलाई नेशन्स लिगको उपाधि दिलाए । इटालियन क्लब युभेन्टसबाट व्यवसायीक फुटबल खेलिरहेका उनले पोर्चुगललाई दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जिताए ।

उनको कप्तानीमा रहेको पोर्चुगलले नेदरल्यान्ड्समाथि १–० को जित निकाल्दै उपाधि जित्यो । त्यसअघि पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो । युरो कप जित्दा पनि रोनाल्डोले नै पोर्चुगलको कप्तानी गरेका थिए । त्यतिमात्र नभएर रोनाल्डो नेशन्स लिगको सर्वाधिक गोलकता बने । सेमिफाइनलमा उनले गरेको ह्याट्रिक नै सर्वाधिक गोलकर्ता बन्न काफी रह्यो ।

देशलाई मात्र नभएर सन् २०१८÷१९ को सिजनको बीचमा स्पेनिस क्लब रियल मड्रिडबाट इटाली गएका उनले युभेन्टसलाई दुई उपाधि दिलाए । उनले क्लबलाई घरेलु लिग सिरी ‘ए’ र सुपर कोपा इटालियाको उपाधि दिलाए ।

उनको यसै प्रदर्शनलाई लिएर प्रिमियर लिग क्लब वुल्भसका मिडफिल्डर रुबेन नेभेसले रोनाल्डोको तारिफ गरेका छन् । ‘एक्स्प्रेस उण्ड स्टार्र्स’सँगको कुराकानीका क्रममा रुबेनले रोनाल्डो विश्वकै महान खेलाडी रहेको बताएका छन् ।

‘क्रिष्टियानो एक उत्कृष्ट खेलाडी हुन्,’ रोनाल्डोका टिममेट तथा पोर्चुगिज खेलाडी रुबेनले भनेका छन्, ‘उनले आफूलाई स्वीट्जरल्याण्डविरुद्धको सेमिफाइनल खेलमै साबित गरिदिएका छन् । हामी भाग्यमानी छौं कि, हामीले आफ्नो टिममा उनलाई पाएका छौं ।’

के रोनाल्डो सर्वकालीन उत्कृट फुटबल खेलाडी हुन् ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘हो, मेरा लागि उनी सधैं उत्कृष्ट खेलाडी हुन् । म साँच्चै भाग्मानी व्यक्ति हुँ, जसले उनको साथमा खेल्न पाएको छ ।’

स्पेन, इंग्ल्याण्ड र इटाली गरी तीनै देशबाट ट्रफी जितेका उनलाई बालोन डी’ओरको दाबेदारको रूपमा हेरिएको छ । उक्त अवार्डको अर्का दाबेदारको रूपमा रोनाल्डोका खास प्रतिस्पर्धी लियोनल मेस्सीलाई पनि हेरिएको छ । यदि, यसपटक रोनाल्डोले वा मेस्सीले उक्त अवार्ड हात पारेमा छैटौंपटक बालोन डी’ओर जित्ने कीर्तिमान बनाउने छन् ।

Loading...