‘कबड्डी कबड्डी कबड्डी’मा अभिनेता दयाहाङ उपासनालाई हेरेर मुस्कुराए

काठमाडौं,
फिल्म ‘कबड्डी’ को तेस्रो सिरिजको धमाधम छायांकन भइरहेको छ । यस फिल्ममा मुख्य भूमिका निर्वाह गरिरहेकी अभिनेत्री उपासना सिंह ठकुरीले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत छायांकनका केही तस्विरहरु सेयर गरेकी छन् ।

‘कबड्डी कबड्डी कबड्डी’ को सेटबाट उपासनाले प्रायः आफ्ना तस्विरहरु सेयर गरिरहेकी हुन्छिन् । हालै उनले अभिनेता दयाहाङ सँगको एक तस्विर सार्वजनिक गरेकी छन् । उपासनाले दयाहाङको काँधमा आफ्नो हात राखेकी छिन् भने दया उपासनालाई हेरेर मुस्कुराएका छन् ।

केही हप्ता यता फिल्मको छायांकन घान्द्रुकमा भइरहेको छ । सार्वजनिक गरिएको उक्त तस्विरबाट उपासनाले फिल्ममा साधारण गाउँले युवतीको भूमिका निर्वाह गरेको अनुमान लगाउन सकिन्छ । ‘कबड्डी’ को दुबै सिरिजमा ‘मैयाँ’ को भूमिकामा रहेकी अभिनेत्री रिश्मा गुरुङको पनि यस फिल्ममा अभिनय छ ।

रामबाबु गुरुङले निर्देशन गरिरहेको फिल्ममा उपासना र रिश्माका साथै अभिनेता दयाहाङ राई र कर्मा शाक्यको पनि मुख्य भूमिका रहेको छ । स्वजातिय विवाह र अन्तर्जा्तिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित हुने यो चलचित्रलाई निमेश श्रेष्ठले फिल्म सम्पादन गर्दै छन् ।

फिल्ममा माओत्से गुरुङ, पुस्कर गुरुङ, विल्सन विक्रम राई, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्र यस वर्षको तिज वा दशैंको बीचमा प्रदर्शनमा आउन सक्ने निर्माण टिमले जनाएको छ ।

Loading...