विराटनगरमा दुईजनामा डेंगुको संक्रमण, आजदेखि ‘स्प्रे’ छर्न सुरु

विराटनगर,
वैशाख अन्तिम सातादेखि धरानमा देखिएको डेंगुको प्रकोप विराटनगरमा पनि फैलिएको छ । धरान उपमहानगरपालिका– १५ मा गत वैशाख ३१ गते देखिएको डुेंगुको संक्रमण सुनसरीको इटहरी, रामधुनीपछि विराटनगरमा पनि देखिएको छ ।

विराटनगर महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनका अनुसार विराटनगर महानगरपालिकाभित्र २ जनामा डेंगुको संक्रमण देखिएको छ । विराटनगर–१ पुष्पलाल चौकका एक जना र विराटनगर–३ का एक जनामा डेंगु पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख योञ्जनले जनाएकी छन् । उनका अनुसार डेंगु संक्रमितको नोबेल अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

विराटनगरमा डेंगु भित्रिएपछि आजदेखि महानगरपालिकाले मालाथिन फगी स्प्रे गर्न सुरु गरेको छ । महानगरपालिकाले उक्त स्प्रे बिहान ७ बजेदेखि ११ बजेसम्म गरेको हो । महानगरपालिकाले आज वडा नम्बर १, २, ३, र १० मा औषधि स्प्रे गरेको छ भने ३१ गते वडा नम्बर ४, ५, ६ र ७ मा, ३२ गते ५, ६, ८ र ९ मा स्प्रे गर्ने कार्यक्रम तय गरेको छ ।

यसैगरी असार १ गते ८, ९, ११, र १२ मा, २ गते ११, १२, १३, र १४ मा, ३ गते १४, १५, १६ र १७ मा र ४ गते १८, १९ मा मालाथिनफगी स्प्रे गर्ने कार्यक्रम तय गरेको छ ।

Loading...