‘प्रेमगीत ३’मा ‘गीत’को भूमिकाको लागि उत्कृष्ट २५ बाट ६ जना योग्य, प्रदीपको जोडी को ?

काठमाडौं
‘प्रेमगीत ३’ निर्माण हुने घोषणा भएदेखि नै यस फिल्मका लागि ‘गीत’ भूमिकाको खोजी भइरहेको छ । निर्माता सन्तोष सेनले केही हप्ताअगाडि आह्वान गरेको एक विज्ञप्तिबाट ’गीत’को भूमिकाको लागि २७ सयभन्दा बढी युवतीको अडिसन दिएका मध्येबाट उत्कृष्ट २५ लाई छानिएको थियो ।

अब २५ जनाको अडिसनपछि एकजना प्रमुख भुमिकाको अभिनेत्री छानिने भएको छ । निर्माता सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठलगायतको क्रिएटिभ टिमले ति उत्कृष्ट २५ जना युवतीहरुको केही दिनमा फाइनल अडिसन पूरा गर्ने भएका छन् ।

फाइनल अडिसनका लागि छानिएका २५ जनामध्ये ६ जना विदेशबाट थिए । त्यसैले अहिले उनीहरुको अनलाइनबाट अडिसन भइरहेको छ । उत्कृष्ट २५ मा छनोट भएका युवतीहरुमध्ये ६ जना ‘गीत’ को भूमिकाका लागि योग्य रहेको निर्माता सन्तोष सेनले बताएका छन् ।

आशुसेन फिल्मसले यसअघि पनि फिल्म ‘प्रेमगीत’को लागि अभिनेता प्रदीप खड्कालाई पनि अडिसनमार्फत नै छनौट गरेको थियो । यस फिल्मको पहिलो पार्टमा अभिनेत्री पूजा शर्मा र दोस्रो पार्टमा अभिनेत्री अश्लेषा ठकुरीले ‘गीत’ को भूमिका निभाएका थिए ।

उत्कृष्ट २५ जनाको अडिसनमार्फत छानिएका ६ जनामा क्षमता, लुक्स, उचाई, सुन्दरता र प्रदीपसँगको केमेस्ट्री सुहाउदो देखिएको छ । अब यी ६ जना मध्येबाटै एक जनालाई ‘गीत’ क्यारेक्टरमा छान्ने सेनले बताए । तर, सेनले नाम खुलाउन चाहेनन् ।

नयाँ वर्षको छेको पारेर चैत्र २८ गते प्रदर्शनमा आउने यस चलचित्रको दशैँअगावै छायांकन सुरु हुने भएको छ । २ सय वर्ष पुरानो कथामा आधारित रहेको ‘प्रेमगीत ३’ आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो र यसलाई निर्देशक छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्ने भएका छन् ।

Loading...