अधिक कोलेस्टेरोल नियन्त्रण गर्न के गर्ने ?

विराटनगर ।

कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो । यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुने गर्छ । स्वस्थ्य जीवनका लागि कोलेस्टेरोल निकै आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कोलेस्टेरोल भन्ने गरिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्छ ।

 

तर, कहिले कहिं यसको मात्रा बढ्न सक्छ । रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ । बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्‍याएर रक्तप्रवाहमा अवरोध पुर्‍याउँछ।

जब रगतमा कोलेस्टेरोलको मात्रा अधिक हुन जान्छ, त्यसले मुटुमा समस्या पैदा गरेर हृदयघाट तथा विभिन्न मुटुसम्बन्धि रोग लाग्ने सम्भावना हुन्छ । यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ। त्यसैले जोकसैले पनि आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलित राख्न प्रयत्न गर्नुपर्छ ।

यसलाई नियन्त्रण गर्नुका लागि सर्वप्रथम कोलेस्टेरोल बढ्नुको कारण पत्ता लगाउनु पर्छ । कोलेस्टेरोल बढ्ने पहिलो कारण हो चिल्लो खाना । शाकाहारी खानामा कोलेस्टेरोलको मात्रा निकै कम हुने गर्छ । फलफुल र सागसब्जिमा कोलेस्टेरोल नै पाउँदैन ।

दुध र दुधबाट बनेका अन्य पदार्थमा कोलेस्टेरोलको मात्रा बढि हुने भएकाले यस्ता खाना खानलाई नियन्त्रण गर्नु पर्छ । कोलेस्टेरोल घटाउनका लागि हामीले हाम्रो तौललाई नियन्त्रणमा ल्याउनु पर्छ । खाना पकाउँदा तेल कम राख्नु पर्छ ।

यसका लागि चिल्लो, पिरो कम भएको स्वास्थ्य अंकुरित खाना, फलफुल, हरियो सागसब्जी खानुका साथ साथै दैनिक नियमित रुपमा शाररिक ब्यायाम गर्नु निकै जरुरि हुन्छ । कोलेस्टेरोल घटाउन मासु र अण्डाको प्रयोग पनि कम गर्दै जानु पर्छ ।

माछामा कोलेस्टेरोलको मात्रा कम हुने भएकोले यसको सेवन गर्न सकिन्छ । हामीले क्याफेनको मात्रा बढी भएको चिया तथा कफीको धेरै सेवन गर्नु हुदैन । यसका साथै धुम्रपान, मदिरापान, खैनी जस्ता अन्य सुर्तीजन्य पदार्थको सेवन गर्नु हुदैन ।

बजारमा पाइने जंक फुड र कोक, फ्यान्टा, पेप्सीजस्ता पेयपदार्थको उपयोग गर्नु हुदैन । उच्च रक्तचाप, मधुमेह, मुटु रोग र मोटा मानिसलाई कोलेस्टेरोल हुने सम्भावना बढी हुन्छ । यदि हाम्रो शरीरमा कोलेस्टेरोलको मात्रा बढी भएमा सुगर, रक्तचाप, थाइराइड र मुटुको जाँच गराइहाल्नु पर्छ ।

कोलेस्टेरोलको मात्रा अत्याधिक बढी छ भने डाक्टरको सल्लाह लिएर औषधिको सेवन गर्नु अवाशक पर्छ । कोलेस्टेरोलको मात्रा नियन्त्रणमा आएपछि औषधिको मात्रा बिस्तारै घटाउदै गएर बन्द गर्न पनि सकिन्छ ।

Loading...