अष्ट्रेलियाका ब्याट्सम्यानसँग कोहलीले मागे माफी

विराटनगर,
१२औं संस्करणको आइसीसी विश्वकप क्रिकेट प्रतियोगितामा उपाधि दाबेदार मानिएका अष्ट्रेलियालाई भारतले हरायो । साबिकको विजेता तथा सर्वाधिक पाँच पटकको विश्वकप क्रिकेट विजेता टोली अष्ट्रेलियालाई भारतले ३६ रनले पराजित हराएको हो ।

३ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय १६ रनमा समेटियो । सुरुमा भारतले टस जितेर ब्याटिङ गर्ने निधो गरेको थियो । भारतका खेलाडीले ब्याटिङ गरिरहँदा अष्ट्रेलियाका खेलाडी फिल्डिङ गरिरहेका थिए ।

तर, सोही क्रममा अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथलाई भारतीय समर्थकले अभद्र व्यवहार प्रस्तुत गरेका थिए । भारतीय समर्थकले स्मिथलाई ‘चिटर’ भनेर गाली गरेका थिए । स्मिथ बाउन्ड्री नजिक गएको बेला भारतीय समर्थक कराउँदै ‘चिटर’ भनि हुटिङ गरेका थिए ।

बल टेम्परिङ काण्डमा दोषी भएर एक वर्ष प्रतिबन्धमा परेपछि स्मिथले पहिलो पटक राष्ट्रिय टिमका लागि प्रतियोगिता खेलेका थिए । बल टेम्परिङमा परेकै कारण भारतीय समर्थकले स्मिथमाथि यस्तो व्यवहार प्रस्तुत गरेका थिए ।

सोही विषयलाई लिएर भारतीय कप्तान विराट कोहलीले स्मिथसँग माफी मागेका छन् । उनले स्मिथ मैदानमा राम्रो खेलाडी भएको भन्दै माफी मागेका हुन् । उनले भनेका छन्, ‘यदि, कसैले आफूले गरेको गल्तीका लागि माफी माग्छ र गल्ती स्विकार गर्छ भने त्यसैलाई लिएर रुष्ट हुनु ठीक होइन । उनी माफी मागेर देशका लागि खेल्न आएका हुन् । त्यसैले भारतीय समर्थकले यस्तो गर्नु हुन्न । म भारतीय समर्थकको तर्फबाट माफी माग्न चाहान्छु ।’

उनले थपेका छन्, ‘स्मिथ आफ्नो देशका लागि खेलिरहेका छन् । उनी मैदानमा धेरै राम्रा खेलाडी हुन् । हामीसँग मैदान र मैदान बाहिर केहि कुरा हुन्छन् ।’

उक्त खेलमा अष्ट्रेलियाका लागि स्मिथले ७० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिएका थिए ।

Loading...