ओली सरकारप्रति जनता : देशको दिशातर्फ गाउँ सकारात्मक, सहर शंकालु !

विराटनगर,
नेकेपा अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाई बहुमत सहित देशको बागडोर सम्हालेपछि ग्रामीण क्षेत्रका जनता बढी आशावादी देखिएका छन् । काठमाडौं विश्वविद्यालयले गरेको सर्वेक्षणका क्रममा ग्रामीण क्षेत्रका जनताले देशले लिएको दिशातर्फ आशावादी देखिएका हुन् ।

बजार क्षेत्रका जनताले भने प्रधानमन्त्री ओली नेतृत्वको सरकारको गति दिशातर्फ शंका व्यक्त गरेका छन् । विश्वविद्यालयले सात प्रदेशका ७ हजार ५६ जना व्यक्तिसंग देशको दिशातर्फ प्रश्न राखेको थियो । तीमध्ये ५१.५ प्रतिशतले देशको गति सही दिशातर्फ गएको बताएका थिए ।

सर्वेक्षण गरिएकामध्ये ३९.४ प्रतिशतले गलत दिशातर्फ देश अघि बढेको बताएका थिए । सर्वेक्षणका क्रममा ९.१ प्रतिशतले चासो नभएको बताएका थिए । सर्वेक्षणमा ग्रामीण क्षेत्रमा रहेका र कम शिक्षित नेपाली आशावादी छन् ।

त्यस्तै निम्न आय भएका जनता पनि सरकारको दिशातर्फ सकारात्मक र बढी आशावादी छन् । सरकारको दिशा गलततर्फ गएको बताउने ३९.४ प्रतिशत जनता बजार क्षेत्रका बढी छन् । विश्वविद्यालयले सन् २०१८ मा सर्वेक्षण गरेको थियो ।

उसले सन् २०१७ मा भन्दा ५.१ प्रतिशत बढी जनताले देश गलत दिशातर्फ गएको बताएका छन् । सकारात्मक दिशातर्फ गएको गएको भन्ने जनता पनि घटेका छन् । सही दिशातर्फ छ भन्ने सन २०१७ भन्दा १.६ प्रतिशत जनमत घटेको हो ।

देशको दिशातर्फ सबैभन्दा बढी प्रदेश ३ मा निराशा देखिएको छ भने सबैभन्दाबढी कर्णाली प्रदेश सरकारको दिशातर्फ जनता सकारात्मक रहेको पाइएको छ । सर्वेक्षणका क्रममा कर्णाली प्रदेशका ६७.९ प्रतिशत, सुदूरपश्चिमका ६०.२ र प्रदेश ५ का ६४.८ प्रतिशत जनता देशको दिशा सहीतर्फ रहेको सर्वेक्षणले देखाएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा ५८.७, प्रदेश २ मा ४९, प्रदेश १ मा ५६ प्रतिशत जनता देशको दिशाप्रति सकारात्मक रहेको देखिएको छ । प्रदेश ३ का २७.३ प्रतिशत जनता मात्र देशको दिशातर्फ सकारात्मक छन् भने ५८.९ प्रतिशत जनमत गलत दिशातर्फ गएको बताउनेछन् । १३.८ प्रतिशत जनता सरकार बारे बेखबर छन् ।

काठमाडौं विश्वविद्यालयले सन २०१८ मा गरेको अध्यन प्रतिवेदनका विषयमा आइतबार विराटनगरमा सरोकारवालाहरुसँग छलफल आयोजना गरेको थियो । सो छलफलका क्रममा संघीयताको अभ्यास गरिरहेको अवस्थामा सरकारलाई गलत देखाउन खोजिएको गुनासो आएको थियो ।

कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख डाक्टर गोविन्द तुम्बाहाङले सर्बेक्षणले सरकारलाई योजना निर्माण गरी विकास गर्न मद्दत पुग्ने बताएका थिए ।

Loading...