fbpx

कटहरी गाउँपालिका अध्यक्षले कुटपिट गरेको आरोपमा दिनभर चक्काजाम !

विराटनगर ।

कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले कुटपिट गरेको आरोपमा एक व्यक्तिले शुक्रवार दिनभरी सडक अवरुद्ध गरेका छन् । कटहरी २ मा भएको बिहिबार राति भएको विवाहमा पुगेका सुदाम कार्कीले अध्यक्षले कुटपिट गरेको आरोप लगाउँदै शुक्रवार विहान ८ बजेदेखि ३ बजे सम्म विराटनगर हाटखोलाबाट रंगेली हुँदै उर्लाबारी सडक अवरुद्ध गरेका थिए ।

कार्की नेपाल स्वतन्त्र यातायात मजदुर संगठन हाटखोला इकाई अध्यक्ष हुन् । बिहिवार रातिको बिहेमा अध्यक्ष कामत सहित बेहुली पक्षका व्यक्तीले कुटपिट गरेको कार्कीको गुनासो छ । ‘हिजो विहेमा केटाहरुले होहल्ला गर्दा मेयरले ‘त डन’ हो भन्दै ढकेले ।’ उनी भन्छन ‘अध्यक्षले ढकेलेपछि अरुले कुटपिट गर्दा पाँच तोलाको सिक्री र औंठी हरायो ।’

जन्तिपक्षबाट गएका कार्की अरुले हल्ला गर्दा आफूमाथि कुटपिट भएपको दाबि सहित अध्यक्षलाई कारवाहीको माग गर्दै सडक जाम गरेको स्वीकार गरे । कार्कीले जाम गर्दा सार्बजनिक सवारी चलेनन् । दिउसो ३ बजे प्रहरीमा जाहेरी दिएपछि जाम फिर्ता लिएका थिए ।

अध्यक्ष भन्छन ‘मैले जोगाएको हो ’

कटहरी गाउपालिकाका अध्यक्ष रामकुमार कामत विवाहमा होहल्ला गरेपछि आफूले कार्कीलाई जोगाएको बताएका छन् । वेहुली पक्ष र जन्तीपक्षको निम्तो बिना पुगेका कार्कीले हल्ला गरेपछि स्थानीयले कुटपिट गर्न खोजको उनको भनाई छ । ‘सम्धीको छोरीको विहेमा गएको बेला मुख छाड्दै होहल्ला गरे ।’ कामत भन्छन् ‘स्थानीयबाट मैले उनलाई जोगाएको कुटपिट गरेको होइन् ।’ आफूले जोगाएपछि कार्की अर्का साथीसँग मोटरसाइकलमा भागेको उनको भनाई छ । कामतका अनुसार कार्की भेष्ट नलगाई बिहेमा पुगेका थिए ।

कार्कीले औठी र सिक्रो हराएको दाबि गरिरहँदा अध्यक्ष कमत भने कार्की आफैले सिक्री खोलेर बोकेको आफूले देखेको बताउछन् । ‘होहल्ला गरेपछि फर्काएर म घर आए ।’ उनी भन्छन ‘ ती भाई मैले चिनेकै हुन, भरे फेरी पुगेछन्, मैले १०० मा फोन गरेर प्रहरीलाई बोलाउनु भने ।’

प्रहरी प्रवक्ता भन्छन् ‘कुटपिट भएको छैन्’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ कार्कीमाथि कुटपिट नभएको बताउँछन् । मध्यरातमा बिहेमा होहल्ला गरेपछि प्रहरीले उनलाई जोगाएको उनले बताए ।

उनका अनुसार राति करिब १२ बजे कार्कीले प्रहरीलाई आफूमाथि कुटपिट भएको भन्दै फोन गरेका थिए । फोन आएलगतै बिहे घरमा पुगेको प्रहरीले लुकेर बसेका कार्कीलाई बोलाएका थियो । कार्की बिहेमा पुग्दा स्थानीय आक्रोशित बनेपछि प्रहरीले उनलाई जोगाएर हाटखोला सम्म ल्याएको थियो ।

अनुसन्धानका क्रममा अध्यक्षले कुटपिट गरेको नदेखिएको उनले बताए । बेहुली र जन्तीपक्षले कुटपिट गर्न खोज्दा अध्यक्षले जोगाएको श्रेष्ठले जानकारी दिए । शुक्रवार विहान चक्काजाम भएपछि प्रहरीले कार्की र मेयरलाई छलफलकालागि बोलाएको थियो । छलफलका क्रममा कार्कीले गल्ती स्वीकार गर्दै चक्काजाम फिर्ता लिएका थिए ।

प्रतिक्रिया

Loading...