fbpx

राष्ट्रिय चिकित्सा ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउँछ : शिक्षामन्त्री पोखरेल

विराटनगर,
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताएका छन् । चिकित्सा शिक्षा आयोगद्वारा विराटनगरमा बिहीबार आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५ अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दैै उनले यस्तो बताएका हुन् ।

मन्त्री पोखरेलले ऐनले निजी चिकित्सा शिक्षाको क्षेत्रमा भएका विकृति अन्त्य गरी दुर्गम क्षेत्रमा शिक्षण संस्था स्थापनाका लागि पूँजी लगानीमा प्रोत्साहन गरेको धारणा व्यक्त गरे । उनले ऐन आउनुभन्दा अगाडि मापदण्डविना विदेशमा नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययन जाने गरेको र २० पल्टसम्म मेडिकल काउन्सिलले लिने परीक्षामा अनुतीर्ण हुने गरेको जानकारी दिँदै अहिले प्रवेश परीक्षा लिने प्रणाली शुरु भएपछि विगतमा एक हजार ५०० को सङ्ख्या घटेर ४०० विद्यार्थी पुगेका छन् भने ।

उनले अहिले चिकित्सा क्षेत्रमा अनुसन्धान आवश्यक रहेको र ऐनले सेवा, पठनपाठन र अनुसन्धानलाई मुख्यरुपमा जोड दिएको चर्चा गर्दै चिकित्सा सेवा मानवजीवनसँग गाँसिएको हुनाले सेवा प्रवाह गर्दा संदवेदनशील हुनुपर्ने बताए ।

उनले चिकित्सा क्षेत्रमा मागअनुसारको जनशक्ति उत्पादन हुनुपर्ने बताउँदै निजी क्षेत्रले उत्पादन गरेर मात्र हुँदैन त्यसको व्यवस्थापन पनि आवश्यक भएकाले ऐनले यसमा प्रभावकारी भूमिका खेल्ने छ भने ।

प्रतिक्रिया

Loading...