मोरङ व्यापार संघको निर्वाचन रोक्न प्रशासनको निर्देशन

विराटनगर ।

मोरङ व्यापार संघको निर्वाचन प्रक्रिया स्थगन गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ । मोरङ व्यापार संघको निर्वाचन समितिले मतदाता नावामली प्रकाशन गर्दा व्यक्तिको नामबाहेक संस्थाको मात्र नाम प्रकाशन गरेपछि सिर्जना भएका विवाद अन्ततः निर्वाचन स्थगनमा पुगेको हाे ।

व्यापार संघको निर्वाचन समितिले आज सोमबारका लागि मनोनयन दर्ता र २४ गतेलाई निर्वाचनको कार्यतालिका प्रकाशित गरेको थियो । तर, त्यसबाट असन्तुष्ट बनेका सदस्यहरुले जिल्ला प्रशासन कार्यालयमा आइतबार निर्वाचन प्रक्रिया र सदस्यता शुल्कको विषयमा निवेदन दिएपछि आइतबार नै व्यापार संघलाई लिखित निर्देशन गरी निर्वाचन प्रक्रिया अघि नबढाउन भनेको हो ।

प्रशासन कार्यालयले फर्म कम्पनीका हकमा प्रोप्राइटर, साझेदार, फर्म सञ्चालकको पूरा नामथर उल्लेख नभएको र सदस्यता नवीकरण गर्न एक्कासि १ हजारबाट २५ हजार रुपैयाँ नवीकरण शुल्क पूर्याइएको साथै निर्वाचन मिति २०७४ बैसाख २२ गते लेखिएको सम्बन्धमा स्पष्ट  पार्न पनि निर्देशन दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका निवर्तमान अध्यक्ष अविनाश बोहोरा र महासंघका प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले प्रशासनमा निवेदन दिएका थिए । मोरङ व्यापार संघ नेपालकै वि.सं २००८ सालमा स्थापना भएको पुरानो उद्योग वाणिज्य संघ हो ।

Loading...