भारत भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

भारतीय प्रधानमन्त्री र राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं ।

दुई दिने भारत भ्रमण पुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहिबार भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ओली साँझ फकिएका हुन् ।

भर्खरै सम्पन्न निर्वाचनबाट दोश्रो कार्यकालकोलागि चुनिएका मोदीको सपथ ग्रहणमा सहभागी भएका प्रधानमन्त्री ओलीले शुक्रबार नै मोदीसंग द्विपक्षिय छलफल समेत गरेका छन् । हैदरावाद हाउसमा भएको भेटमा प्रधानमन्त्री ओलीले नवनिर्वाचित भारतीय समकक्षीलाई बधाई दिनुका साथै नेपाल भ्रमणको औपचारिक निम्तो दिएर फर्किएका हुन् ।

झण्डै आधा घण्टा भएको भेटमा मोदीले नेपाल भ्रमणको निम्तो स्वीकार्दै दुई मुलुकबीचको सम्बन्ध जनस्तरमा राम्रो हुँदै गएकोप्रति खुशी व्यक्त गरे । साथै दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाईमा पुर्‍याउन चाहेको मोदीलाई उदृत गर्दै दिल्लीस्थित नेपाली दूताबासले जनाएको छ ।
प्रधानमन्त्री ओलीले भने सार्क, बिमष्टेक लगायत क्षेत्रीय संगठन आवद्ध मुलुकका प्रमुखलाई बोलाएर मोदीले छिमेकीसँगको सहकार्यलाई प्रमुख प्राथमिकता दिएको प्रष्ट भएको बताए ।

भेटमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अध्यक्षसमेत रहेका ओलीले यसलाई अगाडि बढाउन भारतीय सहयोगको लागि अपेक्षा गरे । यसअघि प्रधानमन्त्री ओलीले विहिबार बेलुका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग छलफल गरेका थिए । भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति कोविन्दलाई पनि नेपाल भ्रमणको निम्तो दिएका छन् ।

 

Loading...