fbpx

सुमार्गीको रकम रोक्न सर्वाेच्चको आदेश

काठमाडौं ।
सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको रोक्का रहेको सम्पत्ति फुकुवा नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले व्यवसायी  सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न आदेश दिएको हो ।

अदालतले सुमार्गीले विदेशबाट ल्याएको यो रकमको स्रोत खोज्न र सम्पत्ति शुद्धीकरण ऐनको उलंघन भएको हो वा होइन समेत यकिन गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

सुमार्गीले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिजका नाममा ल्याएको ७५ मिलियन अमेरिकी डलर (करिब ८० करोड नेपाली रुपैयाँ) राष्ट्र बैंकले रोक्का गरेको थियो । इन्भेस्टमेन्ट बैंकमा रहेको उक्त रकम नरोक्न अन्तरिम आदेशको माग गर्दै सुमार्गी सर्वोच्चमा गएका थिए ।

सर्वोच्च अदालतले तीनवटा विषयमा परमादेश जारी गरेको छ। सम्पत्ति शुद्धिकरण विभागमा सुमार्गीका विषयमा भइरहेको छानबिनलाई यकीन गर्न आदेश दिँदै सर्वोच्च अदालतले त्यसलाई ६ महिनाभित्र टुंगो लगाउन आदेश दिएको हो । यस्तै हरेक महिना आफ्नो फैसला कार्यान्वयन निर्देशनालयमा कारबाहीको प्रगति विवरण पठाउन पनि आदेश जारी भएको छ ।

तत्कालीन न्यायाधीश दीपकराज जोशीले १० पुस २०७५ मा रीटको सुनुवाई गर्दै रकम तत्काल नरोक्न आदेश दिएपछि सुमार्गीले राष्ट्र बैंकले रोक्का गरेको रकम निकालेर विभिन्न बैंकमा सारेका थिए । तर, १४ दिनपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र डाक्टर आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएन ।

त्यसबेलासम्म सुमार्गीले ५५ करोड इन्भेष्टमेन्ट बैंकबाट रकम निकालेर अन्य बैंकमा सारिसकेका थिए । सर्वोच्चको आदेशपछि राष्ट्र बैंकले रकम फिर्ता गर्न ताकेता गरेको थियो ।

प्रतिक्रिया

Loading...