fbpx

विश्वकै अग्लो स्थानमा रोपियो मार्सी

जुम्ला,
सामान्यतया अन्य जिल्लामा असारमा मात्रै धान रोपिन्छ । तर, जुम्लामा भने जेठमै धान रोप्ने चलन छ ।

चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने गरिएको हो । यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ । सोमबार विश्वकै अग्लो स्थान पातारासी गाउँपालिकाको छुमचौर ज्युलो (खेतहरु) मा कृषकले मार्सी रोपेका छन् ।

पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहे पनि यसको उत्पादन घट्दै गएकाले मार्सी लोप हुन नदिन पातारासी गाउँपालिका र कर्णाली कला केन्द्रको आयोजनामा छुमचौर ज्युलोमा सामूहिक रोपाइँ गरिएको हो ।

मार्सी संरक्षणका लागि छुमचौरमा महोत्सवको आयोजना गरिएको थियो । धान रोपाइँ महोत्सवमा चर्चित हास्यव्यङ्ग्य कलाकार राजाराजेन्द्र पोखरेलको प्रस्तुति थियो । जेठमा धान नरोपे असोजमा पर्ने तुसारोका कारण यहाँ धान पाक्दैन । कृषिविज्ञ बालकराम देवकोटाले भने, ‘धान रोपेपछि पाक्नलाई आवाश्यक पर्ने १५० देखि १६५ दिन हो, असारमा धान रोपे कात्तिकसम्म पाक्दैन, त्यसैले परम्परादेखि जेठमै धान रोप्ने चलन छ ।’

गिनिजबुक अफ द वल्र्ड रेकर्डका अनुसार विश्वकै अग्लो स्थान समुद्री सतहदेखि दुई हजार ७९० मिटर उचाइकमा रहेको जुम्ला छुमचौर ज्युलोमा मार्सी फल्ने गर्दछ । पछिल्लो समय मार्सी लोप हुँदै गएपछि यसको संरक्षणमा कृषकदेखि स्थानीय सरकार लागिपरेका छन् ।

बजारमा मार्सीको माग बढ्दो छ । तर ‘ब्लास्ट’ रोगको सङ्क्रमण र असिनापानीले मार्सी झर्न थालेपछि यसको उत्पादन घट्दो छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको एक हजार ३०० हेक्टरमा मार्सी खेती हुँदै आएको छ । यो धान शितोष्ण हावापानीको लागि उपयुक्त मानिन्छ ।

पातारासी गाँउपालिकाको छुमचौर ज्युलोबाहेक अन्य गाउँका नागरिकले करीब एक दशकअघिदेखि मार्सी रोप्न छाडेका छन् । मार्सी संरक्षण र जिल्लाको पहिचानका लागि पनि यसको खेती छाड्न नहुने पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

मार्सीको इतिहास

जुम्ली कालीमार्सी धानको उत्पत्ति १२औँ शताब्दीमा भएको उल्लेख छ । सन् १३०० मा गुरु चन्दननाथ स्वामीले भारतको काश्मीरबाट कालीमार्सी धानको बीउ ल्याई तातोपानीमा लछालकृति पैकलालाई तालीम दिई धान खेती विस्तार गरेको इतिहास छ ।

मार्सी धानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको शेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । अहिले पनि मार्सी धानको चामल चन्दननाथ मन्दिरमा ‘सिक’ दिने प्रचलन छ । मार्सी धानखेतीले नेपालमा हुलाक स्थापना गर्न प्रेरणा दिइएको किंवदन्ती छ ।

जुम्ली किसानले उत्पादन गरेको मार्सी धानको चामल तत्कालीन राजा रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो । जङ्गली धान भएकाले काली मार्सी भनिएको जुम्लाका संस्कतिविद् रमानन्द आचार्यले बताए ।

जुम्लामा धानखेती बेँसीक्षेत्र (समुद्र सतहबाट दुई हजारदेखि दुई हजार २०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट दुई हजार ८०० देखि तीन हजार मिटर) मा हुने गरेको छ । रासस

प्रतिक्रिया

Loading...