fbpx

सांसद मोदीको बचाउमा विराटनगरका उद्योगी र गिधनीयाका स्थानीय

विराटनगर,
नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई प्रश्न गरेपछि विवादमा आएका मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीको बचाउमा विराटनगरका उद्योगी व्यवसायी र स्थानीय लागेका छन् ।

प्रसारण लाइन बनाउने क्रममा सांसद मोदीले पाँच लाख मागेको समाचार सार्वजनिक भएपछि विराटनगरका व्यवसायी र ग्रामथान गाउँपालिकाका स्थानीयले बचाउ गरेका हुन् । बिहीबार मोरङका व्यापारिक संस्था उद्योग संगठन मोरङ र मोरङ व्यपार संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्युत लाईन बिस्तार कार्य अवरोधमा सांसद मोदीसहित व्यापार संघ र उद्योग संगठनको नाम जोडिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सांसद मोदीले प्रशारण लाइन विस्तारमा आर्थिक चलखेल गरेको, उद्योगी व्यापारीसँग ५ लाख रुपैयाँ मागेको जस्ता समाचार तथा टिकाटिप्पणीमा कुनै सत्यता नभएको दुई व्यपारीक संस्थाबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जारी गरेको विज्ञप्तिमा सांसद अमनलाल मोदीले ५ लाख रुपैंया नमागेको बताइएको छ । दुई संगठनले प्राधिकरणलाई निर्माण कार्यलाई छिटो सम्पन्न गरी विद्यूत आपुर्तीको सहज व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सांसद अमनलाल मोदीबीच भएको भनाभनले कसैलाई पनि क्षणिक तृप्ती बाहेक कुनै लाभ नहुने विज्ञप्तीमा उल्लेख छ ।

दुहबी कटहरी रंगेली नयाँ प्रसारण लाइन विस्तारमा सांसद अमनलाल मोदी, प्रदेश सभा सदस्य बिजय बिश्वास, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्षहरु सबैको सहयोग र सहजिकरणबाट काम भइरहेको स्मरण गर्दै उद्योगी व्यवसायिहरुले वैशाख १६ गते जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा मोदीलाई आफ्नै पहलमा बोलाएको स्पष्ट पारेको छ ।

मोरङ क्षेत्र नम्बर ४ को ग्रामथान गाउँपालिकाका जनताले पनि ससंद मोदीले जनताको हितमा काम गरेको बताउदै बदनाम गराउन खोजेको गुनासो गरेका छन् । विज्ञप्ती जारी गर्दै स्थानीयले मोदीको बचाउ गरेका छन् । विज्ञप्तिमा सांसद अमनलाल मोदीको विषयमा भ्रामक कुराहरुको प्रचार भइरहेको उल्लेख गरिएको छ । स्थानीय द्धारा जारी विज्ञप्तिमा जनताको आग्रहमा सांसद मोदीले सम्वन्धित निकायसँग समन्वय गरेको र समस्या समाधानकालागि पहल गरेको बताइएको छ ।

मानव बस्तीको बीचबाट ३३ केभिए प्रशारण लाइन बिस्तार गर्दा अग्लो टावर बनाउन, रुट परिवर्तन गर्न वा प्लाष्टिक कभर गरेर तार बिस्तार गनुपर्ने माग सांसदले प्राधिकरण र प्रशासनसमक्ष राखेको स्थानीय विरेन्द्र चौधरीले बताए ।

विज्ञप्तिमा सांसद मोदीले उद्योगी व्यवसायिसँग रकम मागेको भनेर आफ्नो माग र सरोकारलाई छायाँमा पार्ने प्रयत्न भएको भन्दै आरोप लगाउने कार्य निन्दनीय भएको उल्लेख छ ।

स्थानीयले होचो खम्बाबाट वस्ती क्षेत्रमा विद्युत प्रशारण लाइन बिस्तार गर्दा जनस्वास्थ्यमा असर पुग्ने तर्फ सचेत हुन आग्रह गर्दै नकारात्मक टिप्पणी प्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Loading...