fbpx

जन्मस्थानको विकासमा प्रधानमन्त्रीको चासो, भन्छन् “बजेटका लागि चिन्ता नगर्नु”

काठमाडौं ।

प्रधानमन्त्रीलाई भेट्न आउजाउ गर्ने थुप्रै नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तक हुन्छन् । बिहान सबेरैदेखि रातिसम्म दैनिक सयौं मानिसहरुसँग प्रधानमन्त्रीको भेटघाट र अन्तक्र्रिया हुन्छ ।

बिहीबार बिहान प्रधानमन्त्री ओलीको करिब १५ मिनेटको भेटघाट भने बिल्कुल फरक रह्यो । सधैं राष्ट्रिय राजनीति र विकासका ठूला ठूला नीति र योजनाका बिषयमा छलफल हुने यस ठाउँमा आज प्रधानमन्त्रीले आफ्नो जन्मस्थानको चर्चा र बाल्यकालका साथीसंगीलाई सम्झना गरे ।

चुहानडाँडा विमानस्थलका लागि रकम माग गर्नका लागि आठराई गाउँपालिकाबाट एउटा समूह प्रधानमन्त्री निवासमा आएको थियो । त्यहाँ अधिकांश उतै आठराई मै बसोबास गरेकाहरु र केही झापा र राजधानीमा बसोबास गरिरहेका तर आठराईलाई माया गर्नेहरु थिए । आठराईमा विमान स्थलका लागि पैसा माग्न आएको समुहका बारेमा पूर्व जानकारी पाएका प्रधानमन्त्री ओली अनौपचारिक पोषाकमा नेकपाका महासचिब विष्णु पौडेल सहित बैठक कक्षमा प्रवेश गरे ।

“के छ आठराईको खबर ?” प्रधानमन्त्रीको जिज्ञासा थियो । आगन्तुक सबैले आठराई विमानस्थलका लागि रकम छुट्याउन माग गरे । “नीति कार्यक्रममा आइसकेको छ । बजेटका लागि चिन्ता नगर्नु” प्रधानमन्त्री ओलीले आश्वासन दिए ।

त्यसपछि प्रधानमन्त्री ओलीले आफूसँग भएको डायरी पल्टाउदै आठराईको एउटा सडकको योजना सुनाए । सुकेपोखरी–छातेढुंगा – प्रणामी मावि इवा –भदौरे –बिजौरे आधारभुत विद्यालय हुवाकु –निगुरादिन – चोपुर हुँदै हाङपाङ स्कूल – शान्ति आधारभूत विद्यालय मिचिरिङ हुदै दोभान–ठोट्ने हुँदै तेल्लाबुङसम्म सडकका लागि पनि यसपालि रकमको व्यवस्था हुने जानकारी दिए ।

चुहानडाँडाँ विमानस्थलमा रकम माग गरिएको कागज लिएर प्रदेशसभा सांसद तेजमान कङ्दङ्वा प्रधानमन्त्री नजिक गए । तेजमानको हात समाएर प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई चिनाउन भ्याए ।  प्रधानमन्त्री ओलीले बालसखा चन्द्र कन्दङवाको पनि सम्झना गरे । चन्द्र र ओलीले एकैदिन २०२६ साल फागुन १२ गते नेपाल कम्यूनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

यति भनिसक्दा प्रधानमन्त्रीले आफूले बाल्यकालमा पानी खाने गरेको इवा कै चुच्चेधारो सम्झिदा प्रधानमन्त्रीलाई आठराईबासीले भने “हामीलाई पानीको चाँही सारै समस्या छ ।”

प्रधानमन्त्री ओलीले आठराईमा एउटा फूटबल मैदानको प्रस्ताव गरे । उनले जग्गाको खोजी गर्न समेत आग्रह गरे ।
त्यसपछि प्रधानमन्त्री इवाको भित्रिया र खमारेको बगैंचामा सम्झिदै भने “अहिले छन् कि छैनन् भित्रिया र खमारेमा आँप कटहर ?”

प्रतिक्रिया

Loading...