fbpx

साबित्राको दुई गोलको मद्दतले सेथु च्याम्पियन

काठमाडौं । नेपाली खेलाडी सावित्रा भण्डारीले उत्कृष्ठ प्रदर्शन गर्दै दुई गोल गरेपछि सेथु एफसीले इन्डियन महिला फुटलब लिगको उपाधि जितेको छ ।

देश बाहिर सेथु एफसी क्लवबाट पहिलो पटक व्यावसायीक फुटबल खेलिरहेकी भण्डारीले दुई गोल गरेपछि सेथुले मणिपुर पुलिस स्पोर्टस् क्लबलाई ३–१ पराजित गर्दै उपाधि जितेको हो ।

बुधबार भएकाे फाइनल खेलमा सेथुको जीतकालागि दुई गोल गरेकी साबित्रा प्लेयर अफ द म्याच घोषित भएकी छन् ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सेथु १–० पछि परेको थियो । तर दोस्रो हाफमा सेथु लयमा फर्कीयो । सेथुका लागि इन्दुमतिले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएकी थिइन् । सावित्राले ६० औं र ७० औं मिनेटमा गोल गर्दै सेथुको जीत सुनिश्चित गरिन् ।

राधारानी देवीले मनिपुर पुलिस स्पोर्टस् क्लबकालागि १ गोल गरिन् । पहिलो पटक देश बाहिर व्यावसायिक फुटबल खेल्न भारत पुगेकी साबित्राले लिगमा तीन ह्याट्रिक गर्दै १५ गोल गरेकी छन् ।

साबित्राले डेब्यु खेलमै मणिपुर पुलिस स्पोर्टस् क्लबविरुद्ध ह्याट्रिकसहित चार गोल गरेकी थिइन् । एफसी कोहलपुर सिटी र एसएसबी सेन्ट्रल महिला फुटबल क्लबविरुद्ध ह्याट्रिक गरेकी थिइन् ।

प्रतिक्रिया

Loading...