पाँचथर सामुहिक हत्या प्रकरण : आफन्तले बुझे शव, अन्त्यष्टी बिहिवार गरिने

विराटगर ।

मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा अज्ञात समुहले हत्या गरेका ९ जनाको शव आफन्तले बुझेका छन् । मंगलबार बिहान मिक्लाजुङ– ३ आरुबोटेमा दुई परिवारका नौं जनाको विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार पोस्ट मार्टम पछि दुई परिवारका आफन्तहरुले शव बुझेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मंगलबार पाँचथरको मिक्लाजुङ गाउँपालिकामा बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौं जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।

शव भेटिएपछि प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमकालागि ल्याएको थियो । पोष्टमार्टम रिपोर्ट केही दिन भित्र आउने बताइएको छ । मृतकको अन्त्यष्ठी बिहिवार मात्र गरिने बताइएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंका गरिएका मानबहादुर माखिमको शव पनि आफन्तले बुझेका छन् ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले खोजी गरिरहेका माखिम घटना स्थलदेखि करिब २५ किलोमिटर टाढा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । माखिम बमबहादुरका कान्छा ज्वाइँ हुन् । उनको श्रीमती र ससुराली पक्षसँग राम्रो सम्बन्ध थिएन् । मानबहादुरको शव भेटिएको स्थानदेखि केही पर रगत लतपतिएको कपडा र खुकुरी फेला परेको १ नम्बर प्रदेशका डिआजी केदार रिजालले जानकारी दिए ।

सोमबार राति बमबहादुरको घरका चार जना र उनका ज्वाइँ धनराज शेर्माको घरका पाँच जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

बमबहादुरसहित पत्नी फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुमको ज्यान गएको थियो । त्यस्तै ज्वाइँ धनराजसहित उनकी पत्नी जस्मिता फियाक (शेर्मा), छोरी युहाना शेर्मा, मुना शेर्मा र भतिजी इक्सा शेर्माको हत्या भएको थियो । बमबहादुरकी नातिनी सीता खजुमले भागेर ज्यान जोगाएकी थिइन् ।

Loading...