पाँचथर घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक हुन्छ : गृहमन्त्री थापा

काठमाडौं ।

पाँचथरको आरुबोटेमा भएको दुई परिवारको संहारको घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गर्ने गृहमन्त्री रामबहादुर थापाले प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार राष्ट्रियसभाको बैठकमा घटनाबारे बताउदै मन्त्री थापाले घटना घटाउने व्यक्तिको खोजतलास भइरहेको भन्दै प्रहरीलाई हत्याकाण्डको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्न निर्देशन दिएको बताए ।

घटना दुखद, विभत्स प्रकृतिको भएको भन्दै उनले यस किसिमका घटना रोक्न प्रहरी र गृह मन्त्रालयबाट सक्दो प्रयास गरिरहेको बताए ।
घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र प्रदेश १ प्रहरी कार्यालयबाट एसएसपी नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सिता खुजुमको उपचार भइरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताए । गत सोमबार राति भएको सो सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो ।

नौं जनाको सामूहिक हत्या गरिएको २ दुई घण्टाको पैदल दुरीमा ज्वाई मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । हत्या गरिएका ९ जना र आत्महत्या गरेका एक जनाको शव पोष्टमार्टमका लागि धरान ल्याइएको छ ।

गृहमन्त्री थापाले भविष्यमा यस्ता घटना हुन नदिन सजगता अनपाइने पनि बताए । अहिले हत्याकाण्ड भएको गाउँ मिक्लाजुङ गाउँपालिका १ आरुबोटेमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेको पनि उनको भनाई छ ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले घटना पारिवारिक कलहका कारण भएको बताए । तर यस विषयमा प्रहरीलाई पूर्व जानकारी नरहेकाले घटना रोक्न नसकिएको प्रष्टिकरण पनि दिए ।

Loading...