पहिलो पटक नेपाल आउँदै चर्चित गायिका नेहा कक्कर

विराटनगर,
भारतकी चर्चित गायिका नेहा कक्करले काठमाडौंमा लाइभ प्रस्तुति दिने भएकी छन् । नेहाले आफू नेपाल आउन लागेको भन्दै आफ्नो सामाजिक संजालमार्फत जानकारीसमेत गराएकी छिन् ।

नेहाको नेपालमा यो पहिलो कन्सर्ट हुने छ । यहि जेठ २५ गतेका शनिवारका दिन पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा काठमाडौंको लर्ड अफ दि डिङ्क्स (एलओडी) मा हुने विशेष शोमा उनले प्रस्तुती दिने भएकी हुन् ।

कन्सर्ट स्थलमा २५ सय दर्शक अटाउने आयोजकले जनाएको छ । कार्यक्रम बेलुका ८ बजेदेखि शुरु हुने भएको छ । पर्यटन बर्ष २०२० लाई लक्षित पारेर नेहा र इन्डियन आइडलका टप टेन प्रतियोगीहरुलाई नेपाल ल्याउन लागेको पारामाउण्ट इन्टरटेन्मेन्टका संचालक जनार्जन ढुंगेलले बताएका छन् ।

प्रस्तुति दिनका लागि नेहा शुक्रवार नै नेपाल आउने योजना छ । नेहा आफ्नो सम्पूर्ण ब्याण्ड मेम्बर र यस सिजनका इन्डियन आइडलका टप टेन प्रतिस्पर्धीसंग नेपाल आउन लागेको आयोजकले जनाएका छन् । कन्सर्टमा सहभागी हुन चाहने दर्शकका लागि बुकिङ खुला भइसकेको छ ।

कार्यक्रममा नेहा र ‘इन्डियन आइडल’ का उत्कृष्ट दश प्रतिस्पर्धीका साथ नेपाली गायक तथा गायिकाको पनि सहभागिता रहने जनाइएको छ । नेपाल र भारतका कालाकारको प्रस्तुती आदान प्रदान गर्ने कार्यक्रम बृद्धि गरेर भिजिट नेपालका लागि प्रचारको योजना बनाइएको छ ।

Loading...