fbpx

कुलमानले भ्रष्टाचार गरेको मोदीको आरोप

काठमाण्डौं ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टचार गरेको भए कारबाही भोग्न तयार रहेको बताएकाछन् । उनले कार्यकारी निर्देशक भएर आएपछि कुनै आर्थिक अनियमितता भएको प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताएका हुन् ।


प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा नेकपाका सांसद अमनलाल मोदीले लोडसेडिङ हटाएको नाममा फाइदा लिदै प्राधिकरणमा आर्थिक अनियमितता भएको आरोप लगाएपछि कार्यकारी निर्देशक घिसिङले त्यसको प्रतिवाद गरेका हुन् ।

घिसिङले बाँकी बक्यौता रहेको महसुल उठाउन प्राधिकरणले हदैसम्मको प्रयास गरेको भन्दै कुनै पनि कमजोरी नगरिएको बताए । उनले आर्थिक अनियमितता गर्ने भन्ने कुनै प्रश्न नभएको उनको भनाई छ । सांसद मोदीले लोड सेडिङ अन्त्य गर्न तत्कालिन मन्त्री र सचिवहरु तथा अन्य कर्मचारीको भुमिका भएपनि एक्लै जस लिन खोजेको भन्दै घिसिङको आलोचना समेत गरे ।

उनले त्यसैका आधारमा आर्थिक अनियमितता भएको आरोप लगाएका थिए । बैठकमा कांग्रेस सांसद राजन केसीले बाँकी बक्यौता उठाउन प्राधिकरणले सार्थक प्रयास गर्नुपर्ने बताए । नेकपाका अर्का सांसद लेखराज भट्टले कमी कमजोरी नहुने गरी काम गर्न प्राधिकरण नेतृत्वलाई सुझाव दिए ।

त्यस्तै राजपा सांसद शरतसिंह भण्डारीले घिसिङको पक्ष लिदै गलत भएको भए छानबिन गर्नुपर्ने तर काम गर्ने व्यक्तिको मान मर्दन गर्न नहुने बताए । समितिका सभापति भरत शाहले प्राधिकरणको महसुल बक्यौताको विषयमा समितिले सत्यतथ्य छानबिन गर्ने जानकारी दिए ।

प्रतिक्रिया

Loading...