fbpx

अनशनरत नर्सहरुको जीवन रक्षाको माग

काठमाडौं ।

‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारकाबिरुद्ध सत्याग्रहमा रहेका नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ । नर्सद्धय बराल र शेर्पा भक्तपुरस्थित् शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा अनशनरत छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त अभियानले यस्तो अपिल गरेको हो । कार्यक्रममा बोल्दै ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता डा. सुरेन्द्र भण्डारीले अनशनरत नर्सको जीवन रक्षाको सवालमा राज्य गम्भिर बन्नुपर्ने धारणा राखे ।

सरकारी पक्ष र अनशनरत पक्षबीच चाँडोभन्दा चाँडो वार्ता हुनुपर्ने र पेशागत हकहितमा रहेका जायज मागहरु पुरा गर्न सरकार गम्भिर बन्नुपर्ने भण्डारीको आग्रह छ ।  त्यस्तै, कार्यक्रममा बोल्दै नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले देशमा अहिले लगभग ४० हजार नर्सको आवश्कत्ता रहेको बताउँदै एउटा नर्सले आइसियुमा आठ जना बिरामीहरुलाई हेर्नुपर्ने बाध्यता रहेको सुनाईन् ।

सरकारी कोटामा विदेश पढ्न जाने अवसर सरकारले नदिएपनि व्यक्तिगत रूपमा अध्ययनका लागि विदेश जान चाहने नर्सहरुलाई सरकारले अवसर प्रदान गर्नुपर्ने उनको माग छ ।नर्सहरुको कार्यस्थलमा सुरक्षाको प्रत्याभुति पनि नभएको भन्दै उनले नर्सहरुमाथि अत्याचार कायमनै रहेको पनि गुनासो पोखिन् ।

सरकारले देशभरिका नर्सहरुको हकहित र भोग्दै आएका समस्याहरुको सम्बोधन हुनेगरि जारी गरेका मागहरु लागु हुनुपर्ने उनको धारणा छ ।

त्यस्तै, नर्सिङ युनियनकी अध्यक्ष जानकी केसीले स्नातकोत्तर गरिसकेको नर्सहरुले अहिले नेपालमा स्टार्फ नर्सले गर्र्ने व्यवहार भोग्दै आइरहेको बताईन् । जारी आन्दोलन नर्सिङ सेवा क्षेत्रभित्र रहेका समस्याहरुको आवाजको रुपमा रहेका बताउदै उनले नर्सिङ पेशालाई मर्यादित बनाउन माग गरिन् ।

अहिले आफुहरुले पाउनुपर्ने मानव अधिकार नपाइरहेको बताउदै उनले दुर–दराजमा रहेका नर्सहरुको अवस्था के होला भन्दै सम्बन्धित क्षेत्रलाई बेलैमा सोच्न आग्रह गरिन् । त्यस्तै कार्यक्रममा बोल्दै नर्स सिमा धतान बिश्वकर्माले अनशनरत नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको माग राखिन ।

स्वास्थ सेवामा लागेका नर्सहरुलाई मेसिनको रुपमा प्रयोग नगरेर मानवको रुपमा हेर्न आवश्यक रहेको उनको धारणा छ । त्यस्तै, कार्यक्रममा बोल्दै नर्स कविता आचार्यले आफुहरुको पीडा पोख्नकै लागि सडकमा आउनुुपरेको जानकारी गराईन् ।

कार्यस्थलमा हुनुपर्ने सुरक्षालगायत आफ्ना समस्यामाथि ध्यान नपु¥याएको बताउँदै आफुहरुलाई नागरिकको रुपमा हेर्न आवश्यक रहेको उनको भनाई छ ।

विश्व स्वास्थ संगठनको नीतिबमोजिम नर्स र बिरामीको अनुपात मिलाउने, नर्सहरुको उचित सम्मान गर्दे तहगत पारिश्रमिक तथा सेवा सूविधाको व्यवस्था सबै स्वास्थ संस्थाहरुमा गराउनु पर्ने लगायतका माग राख्दै उनीहरु अनसनमा बसेका हुन् ।

प्रतिक्रिया

Loading...