पहिलो पटक ‘कान्स फिल्म फेस्टिभल’मा नेपालको प्रतिनिधित्त्व गर्दै प्रियंका कार्की

काठमाडौं,
फ्रान्समा जारी भइरहेको ‘कान्स फिल्म फेस्टिभल २०१९’ को रेड कार्पेट समारोहमा नेपाली अभिनेत्री प्रियंका कार्की पनि सहभागी भएकी छन् । ‘कान्स फेस्टिभल’मा सहभागी हुने हलिउड तथा बलिउड स्टारसहित संसारभरका सेलिब्रिटी आईकनका साथमा पहिलो पटक रेड कार्पेटमा सहभागी भएकी उनी पहिलो नेपाली कलाकार हुन् ।

कान्स फिल्म फेस्टिभलको ७२औं संस्करणमा पहिलो पटक नेपालको एम्बासडरका रुपमा प्रियंकाले प्रतिनिधित्व गरेकी हुन् । मे १४ देखि २५ तारिखसम्म चल्ने यस ‘कान्स फेस्टिभल’मा उनले सोमबार देखि शुक्रबारसम्म आयोजना हुने विभिन्न चार वटा कार्यक्रमहरुमा भाग लिने भएकी छिन् ।

फेस्टिभलका लागि फ्रान्स पुगेकी प्रियंकाले आफ्नो इन्स्टाग्राममार्फत आफ्नो तस्बिर सेयर गर्दै ’कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउँदा आफ्नो उत्साह व्यक्त गरेकी छन् ।

विगत लामो समयदेखि उक्त फेस्टिभलको रेड कार्पेटमा संसारका प्रसिद्ध कलाकारहरुलाई देखिरहँदा आफू पनि एक दिन त्यहाँसम्म पुग्ने आफ्नो सपना पूरा भएको र यो आफ्नो लागि ठूलो सौभाग्य रहेको बताएकी छन् ।

Loading...