मोटरसाइकलमा सवार यात्रुले पनि हेलमेट लगाउनुपर्ने योजना तत्काल लागू नहुने

काठमाडौं,
मोटरसाइकलमा सवार दुई जनाले नै हेलमेट लगाउनुपर्ने योजना तत्काल लागू नहुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा मोटरसाईकलमा सवार यात्रुले पनि हेलमेट लगाउनुपर्ने योजना तत्काल कार्यान्वयन नहुने जानकारी दिएको छ ।

उसले सामाजिक सञ्जाल ट्वीटरमार्फत् दुई पांग्रे सवारीमा यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने योजना तत्काल कार्यान्वयन नहुने स्पष्ट पारेको हो । यसअघि महाशाखाले दुर्घटना न्यूनिकरणका लागि चालकका साथै यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दिएको थियो ।

महाशाखाले सवारी ऐन २०४९ मा मोटरसाइकल तथा दुई पांग्रे सवारी चालक तथा पछाडि बस्ने यात्रुले हेलमेट लगाउनुपर्ने प्रावधान उल्लेख रहेको बताएको छ । उसले ट्वीटरमा यो नियम तत्काल कार्यान्वयन नहुने भई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायको बीचको समन्वय र सहकार्यपश्चात कार्यान्वयन हुने बताएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी महाशाखाले यस्तो योजना ल्याउने घोषणा गरेसँगै ट्राफिक प्रहरीको चर्काे आलोचनासमेत भइरहेको छ ।

Loading...