प्रदेश १ को बजेट अधिवेशन जेठ १३ मा

विराटनगर ।
प्रदेश नम्बर १ मन्त्रीपरिषदको बैठकले बजेट अधिवेशनको मिति १३ गतेलाई तोकेको छ । आइतबार सम्पन्न मन्त्रीपरिषदको बैठकले बजेट अधिवेशनको मिति सहित ७ वटा निर्णयहरु गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए ।

मन्त्री परिषदको बैठकले प्रदेश सभाको चौथो तथा चालु आर्थिक वर्ष २०७५ /७६ को बजेट अधिवेशन मिति २०७६जेठ१३ गते दिनको १ बजेकालागि आव्हान गर्ने निर्णय गरेको हो । यस्तै प्रदेश लेखा नियन्त्रकको कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुलाई कार्यसम्पादन सूचकांकको आधारमा प्रोत्साहन भत्ता दिने निर्णय समेत आइतबारको बैठकले गरेको छ ।

सार्वजनिक खर्चको मापदण्ड, कार्यविधी र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ लाई संसोधन गर्ने र स्रोत सुनिश्चितता र बहुवर्षीय आयोजना सम्बन्धि निर्देशिका २०७६ स्वीकृति गर्ने निर्णय भएको कार्कीले बताए ।  आइतबारको बैठकबाटै प्रदेश घरेलु हिंसा सम्बन्धि नियमावली २०७६ लाई स्वीकृत गरिएको छ ।

यस्तै मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान समेत गरिएको छ ।  प्रदेश समन्वय विकास परिषदको बैठक जेठ १७ गते बस्ने निर्णय समेत मन्त्रीपरिषदको बैठकले गरेको छ ।

Loading...