fbpx

चेतनामा लुइँटेलको एकल कविता वाचन

विराटनगर ।

चेतना संरक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबार कवि उमेश लुइँटेलको एकल कविता वाचन सम्पन्न भएको छ । मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा लुइँटेलले ‘ऐना’, ‘उज्यालो खोज्नेहरू’, ‘विम्बहरू जागृत भएपछि’, ‘तिमी हुनुको अर्थ’, ‘कर्मयोद्धा’लगायत विभिन्न शीर्षकका ६ वटा कविता वाचन गरे ।

प्रतिष्ठानको ३५ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा लुइँटेलले समसामयिक विषयलाई आधार बनाएर लेखिएका कविता प्रस्तुत गर्दा दर्शक–स्रोताको राम्रै ताली पाए । दुई दशकदेखि सक्रिय लुइँटेलको एउटा कवितासंग्रह प्रकाशित छ ।

कविता वाचनअघि अग्रज साहित्यकार रमाप्रसाद रिजाल र प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईंले अविर र खादा लगाएर लुइँटेललाई सम्मान गरेका थिए । कार्यक्रममा आयोजक संस्थाका महासचिव उमेश दाहालले विगत ३ वर्षदेखि प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार एकल र सामूहिक सिर्जना वाचन कार्यक्रम आयोजना गर्दै आएको बताए ।

प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा हालसम्म १ सय ५० सयभन्दा बढी कविले सिर्जना प्रस्तुत गरिसकेको कार्यक्रम संयोजक मीनकुमार नवोदितले बताए । उनका अनुसार वाचन भएको कविता मकालु टेलिभिजनको ‘चेतना प्रवाह’कार्यक्रममा समेत प्रशारण हुँदै आएको छ ।

Koshi Online

FREE
VIEW